पोखरा-२१ लाई ‘ग्रीन हिल भिलेज टुर’ बनाउने प्रस्ताव, रश्मि आचार्यलाई स्थानीयको विस्तृत सुझाव

Share:

पोखरा । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि कास्की क्षेत्र नं. २ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले)की उम्मेदवार रश्मि आचार्यलाई पोखरा-२१ (कृस्ती) का स्थानीयवासीले आफ्नो क्षेत्रलाई पर्यावरणमैत्री तथा आकर्षक पर्यटन गन्तव्यका रूपमा विकास गर्न स्पष्ट गुरुयोजना अघि सार्न आग्रह गरेका छन्।

शनिबार फुस्रेखोला, रामदी, एकहाते, मट्टीखानलगायतका बस्तीमा सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रम लिएर पुगेकी आचार्यसँग स्थानीयले ‘ग्रीन हिल भिलेज टुर’ अवधारणाअनुसार समग्र विकास योजना सार्वजनिक गर्न माग गरेका हुन्।

पोखरा-२१ र ३३ क्षेत्र पूर्व संविधानसभा सदस्य रविन्द्र अधिकारीको पहलमा पर्यटन क्षेत्र घोषणा गरिएको थियो। तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यमा कृस्ती, निर्मलपोखरी र भरतपोखरी पर्यटन विकास समितिको आयोजनामा उक्त क्षेत्रलाई पर्यटन क्षेत्र घोषणा गरिएको थियो।

स्थानीयको भनाइमा भौतिक पूर्वाधार (बाटो, खानेपानी, बिजुली, इन्टरनेट, शिक्षा) मा प्रगति भए पनि अब पर्यटन विकासको ‘मास्टर प्लान’ कार्यान्वयनमा जानुपर्ने समय आएको छ। पूर्ववडाध्यक्ष खगराज आचार्यले प्राचीन पोखरी र धार्मिक-सांस्कृतिक स्थलहरूको संरक्षण र पुनर्निर्माणमार्फत धार्मिक तथा प्राकृतिक पर्यटन प्रवर्द्धन गर्नुपर्ने बताए।

भरतपोखरी, निर्मलपोखरी, कृस्तीका मट्टीखान, बाझीपोखरी, डाँडागाउँको महारुद्र र हुडिकोट क्षेत्रमा आधुनिक पूर्वाधारसहित आकर्षक गन्तव्य निर्माण गर्नुपर्ने धारणा राखिएको छ। गण्डकी प्रदेशसभा सदस्य भीम कार्कीले छोरपाटनदेखि कृस्ती, निर्मलपोखरी, भरतपोखरी हुँदै पूर्णिटार-कोत्रेसम्म जोड्ने ‘जाऔँ हेरौँ पोखरा’ उद्घोषसहित एकीकृत पर्यटन कनेक्सनको सम्भाव्यता अध्ययन भइरहेको जानकारी दिए।

गोलादी खोला, खारखोला, टक्सार क्षेत्रलाई स्याङ्जा र तनहुँसँग जोड्ने ‘लिंक स्पट रुट’ तथा करिडोर सडक अवधारणा कार्यान्वयन गर्नुपर्ने सुझाव पनि कार्यक्रममा उठाइएको थियो। स्थानीयले ‘ग्रीन हिल भिलेज टुर’ अन्तर्गत विशेष सहुलियतसहित होमस्टे, होटल र रेस्टुरेन्ट सञ्चालनका लागि आर्थिक प्याकेज घोषणा गर्न माग गरेका छन्।

साथै मट्टीखानदेखि हुडिकोट-पूर्णिटारसम्म कम्तीमा एक बैंक शाखा स्थापना गर्नुपर्ने, ‘एक क्षेत्र-एक उत्पादन’ (बाख्रा, सुन्तला, तरकारी आदि) को पकेट क्षेत्र निर्धारण गरी कृषि उत्पादन संकलन केन्द्र र ‘कृषि एम्बुलेन्स’ सञ्चालन गर्नुपर्ने सुझाव दिएका छन्।

स्थानीयले साहित्यकार र सञ्चारकर्मीका लागि नियमित अन्तर्क्रिया हुने ‘साहित्य मिडिया ग्राम’ स्थापना, सुरौदी-खारखोला-लाङ्दी-गोलादी-फुस्रेखोला जलाधार संरक्षण क्षेत्र घोषणा गरी वातावरणमैत्री पर्यटन विकास गुरुयोजना ल्याउन आग्रह गरेका छन्।

स्थानीयले प्राविधिक शिक्षालय स्थापना, सञ्चालित विद्यालयको गुणस्तर सुधार, उप-स्वास्थ्य चौकीलाई १५ शैयाको अस्पतालमा स्तरोन्नति, गर्भवती महिला र ७० वर्षमाथिका ज्येष्ठ नागरिकका लागि ‘घर-घर नर्सिङ सेवा’ सञ्चालन गर्न माग गरेका छन्।

त्यस्तै, निःशुल्क एम्बुलेन्स सेवा, मोबाइल टावर तथा इन्टरनेट विस्तार, सहलगानीमा बृहत् खानेपानी आयोजना द्रुतगतिमा सम्पन्न गर्नुपर्ने सुझाव समेत राखिएको छ।

उम्मेदवार रश्मि आचार्यले आफू जनताको सुझाव संकलन गर्न घरदैलोमा पुगेको बताउँदै स्थानीय, प्रदेश र संघीय जनप्रतिनिधिबीच समन्वय सुदृढ बनाउने प्रतिबद्धता जनाइन्।

“तीन वा छ महिनामा एकपटक टोल-टोलमा जनप्रतिनिधि कार्यक्रम सञ्चालन गरी समस्या पहिचान र समाधानमा प्रत्यक्ष संवाद गर्नेछु,” उनले भनिन्।

एमाले वडा अध्यक्ष राजेन्द्र थापाले रश्मि आचार्य राष्ट्रिय राजनीति र नीति निर्माण तहमा प्रभावशाली भूमिका खेल्न सक्ने उम्मेदवार भएको दाबी गरे।

पोखरा-२१ र ३३ लाई प्रकृति, कृषि, संस्कृति र प्रविधिको समन्वयमार्फत ‘डेस्टिनेसन प्याराडाइज’ बनाउने महत्वाकांक्षी योजना अघि सार्दै स्थानीय र उम्मेदवारबीच विकास बहस तीव्र बनेको छ।

कमेन्ट गर्नुहोस्
Share: