स्व. लक्ष्मी सुन्दरी कर्माचार्यको स्मृतिमा १ लाख रुपैयाँ सहयोग हस्तान्तरण

Share:

पोखरा। पोख्रेली व्यवसायिक घराना कर्माचार्य ग्रुपद्वारा स्थापित स्व. लक्ष्मी सुन्दरी कर्माचार्य मृगौला पीडित सहयोग कोष मार्फत कास्कीकी ४९ वर्षीया मृगौला पीडित बुद्धीशोभा गुरुङलाई शनिबार एक लाख रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको छ।

३० लाख रुपैयाँको अक्षय कोष स्थापना गरी हरेक वर्ष एक जना मृगौला रोगीलाई सहयोग गर्ने उद्देश्यसहित सञ्चालनमा रहेको उक्त कोषले यस वर्षको सहयोग रकम गुरुङलाई प्रदान गरेको हो।

सहयोग हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी धनराज आचार्यले मृगौला रोगबाट पीडित परिवारलाई यस्तो सहयोगले ठूलो हौसला मिल्ने बताए।

उनले समाजमा यस्ता परोपकारी कार्यले सकारात्मक सन्देश दिने उल्लेख गरे। साथै, गत वर्ष आफू आगलागी दुर्घटनामा परेको स्मरण गर्दै पोखरामा यसै सातादेखि जलन अस्पताल सञ्चालनमा आउने जानकारी दिए।

कार्यक्रममा गोविन्द कर्माचार्यले मृगौला रोगीको संख्या बढ्दै गइरहेकाले पालिका अस्पतालमा डायलासिस मेसिनको आवश्यकता महसुस भएको धारणा राखे।

त्यस्तै, मणिपाल अस्पतालका न्युरोसर्जन डा। बालगोपाल कर्माचार्यले नसर्ने रोगबाट मृत्यु हुनेको संख्या बढ्दो रहेकाले नियमित स्वास्थ्य परीक्षण गर्न आग्रह गरे।

सो अवसरमा उद्योगपति चन्द्रकृष्ण कर्माचार्यद्वारा लिखित ‘संसार आफ्नै, एक उद्यमीले बाँचेको समय’ नामक पुस्तकको समेत लोकार्पण गरिएको थियो। कार्यक्रममा वक्ताहरूले पुस्तकले उद्योग–व्यवसायमा लाग्न प्रेरणा दिनुका साथै समाजप्रति जिम्मेवारी र पारिवारिक एकताको सन्देश दिएको बताए।

उद्योगपति तथा स्व. लक्ष्मी सुन्दरी कर्माचार्यका पति कर्माचार्यले आफ्नो सफलताको श्रेय स्वर्गीय श्रीमतीलाई अर्पण गर्दै सामाजिक सेवामा परिवारको प्रतिबद्धता निरन्तर रहने बताए।

स्व. लक्ष्मी सुन्दरी कर्माचार्यकी छोरी रेखा कर्माचार्यले हरेक वर्ष एक जना बिरामीलाई आर्थिक सहयोग गर्ने प्रतिबद्धता जीवित राख्ने घोषणा गरे।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय अध्यक्ष आनन्दराज मुल्मीले राज्यले नागरिकको स्वास्थ्यप्रति जिम्मेवारी वहन गर्नुपर्ने आवश्यकता औंल्याउँदै नसर्ने रोगबारे व्यापक जनचेतना आवश्यक रहेको धारणा राखे।

कर्माचार्य समाज कास्कीको पाँचौं स्थापना दिवस समारोहको अवसरमा आयोजित कार्यक्रममा विभिन्न वक्ताहरूले ‘रोग लाग्नुभन्दा रोग लाग्न नदिनु नै उत्तम’ भन्ने सन्देश दिएका थिए।

कमेन्ट गर्नुहोस्
Share: