महाशिवरात्रिका लागि पशुपतिनाथ मन्दिर क्षेत्रमा भव्य तयारी, सरसफाइ र सेवामा विशेष जोड

190
0
Share:

काठमाडौं । महाशिवरात्रि पर्व नजिकिँदै जाँदा पशुपति क्षेत्रमा साधुसन्त तथा स्वदेश-विदेशबाट आएका भक्तजनको चहलपहल उल्लेखनीय रूपमा बढेको छ। ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको पशुपतिनाथ मन्दिर परिसर यतिबेला मेलाजस्तै बनेको छ। विभिन्न स्थानबाट आएका साधुसन्त र भक्तजनका कारण क्षेत्र पूरै भक्तिमय वातावरणमा परिणत भएको छ।

महाशिवरात्रिको अवसर पारेर पशुपति क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर, निःशुल्क भोजन सेवा, खानेपानी तथा चिया वितरणजस्ता सेवाहरू सञ्चालनमा आएका छन्। कतिपय संघ–संस्थाले सेवा सुरु गरिसकेका छन् भने केहीले तयारीलाई अन्तिम रूप दिइरहेका छन्। पर्वलाई व्यवस्थित र मर्यादित बनाउन पशुपति क्षेत्र विकास कोषका पदाधिकारी तथा कर्मचारी स्थलगत रूपमा खटिएर काम गरिरहेका छन्।

हंसमण्डप क्षेत्रको अनुगमनका क्रममा कोषका कोषाध्यक्ष श्रीधर सापकोटाले यस वर्ष सरसफाइ व्यवस्थापनमा विशेष ध्यान दिइएको जानकारी दिए। उनका अनुसार साधुसन्त र भक्तजनका लागि प्रभावकारी व्यवस्थापनमा कोष केन्द्रित छ। यस वर्ष करिब चार हजारदेखि चार हजार पाँच सयसम्म साधुसन्त आउने अनुमान गरिएको छ, जुन गत वर्षभन्दा बढी हो।

यद्यपि सेवा दिइरहेका स्वयंसेवी संस्थाहरूको प्रारम्भिक आकलनअनुसार अघिल्लो दिनसम्म भक्तजनको संख्या विगत वर्षको तुलनामा केही कम देखिएको छ। हंसमण्डपमा भोजन सेवामा खटिएका विनोद लीला अग्रवालका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण पनि आवागमन केही कम हुनसक्ने अनुमान गरिएको छ।

पर्वलाई लक्षित गर्दै पशुपति क्षेत्रलाई फूलमालाले सिँगारेर आकर्षक बनाइएको छ। सम्पूर्ण क्षेत्रलाई विशेष सजावटसहित भक्तजनका लागि तयार पारिएको छ।

यसैबीच ‘राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नारासहित वाग्मती सफाइ महाअभियानको ६६६औँ हप्ताको कार्यक्रमअन्तर्गत पशुपति क्षेत्रस्थित राममन्दिरमुनिको नदी किनार, आर्यघाट तथा आसपासका क्षेत्रमा विशेष सरसफाइ गरिएको छ। सफाइ अभियानमा कोषका पदाधिकारी, काठमाडौँ महानगरपालिका–११ का जनप्रतिनिधि, वातावरण विभागका अधिकारी, वाग्मती सभ्यता एकीकृत विकास समितिका कर्मचारी तथा स्थानीयवासीको सक्रिय सहभागिता रहेको थियो।

आजको सरसफाइ अभियानबाट करिब १८ मेट्रिकटन कुहिने तथा नकुहिने फोहर व्यवस्थापन गरिएको अभियानकर्मीहरूले जानकारी दिएका छन्। महाशिवरात्रि पर्वलाई स्वच्छ, सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गर्ने लक्ष्यका साथ सरसफाइ तथा सेवा व्यवस्थापनलाई तीव्रता दिइएको छ।

महाशिवरात्रि नजिकिँदै गर्दा पशुपति क्षेत्र भक्तिभाव, सेवा र सरसफाइको सन्देशसहित पर्वमय वातावरणमा डुबेको छ।

कमेन्ट गर्नुहोस्
Share: