
पोखरा। जेसीआई पोखरा (पोखरा जेसीज) ले आयोजना गर्न लागेको ‘ककस प्रोग्राम–२०२६’ अब राष्ट्रिय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने भएको छ। कार्यक्रमको आधिकारिक प्रसारणका लागि जेसीआई पोखरा र एबीसी न्यूज प्रालिबीच मंगलबार पोखरामा द्विपक्षीय सम्झौता भएको हो।
सम्झौता पत्रमा जेसीआई पोखराका अध्यक्ष सुमन पहारी र एबीसी टेलिभिजनका ब्यूरो प्रमुख एम.बी. आस्थामगरले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार फागुन ७ गते (फेब्रुअरी १९) पोखरा सभागृहमा आयोजना हुने कार्यक्रम एबीसी न्यूजले टेलिभिजन तथा डिजिटल प्लेटफर्ममार्फत प्रत्यक्ष र रेकर्डेड दुवै रूपमा प्रसारण गर्नेछ।
सम्झौता कार्यक्रममा जेसीआई पोखराका कार्यक्रम संयोजक तिलकप्रसाद लामिछाने, एबीसी टिभी पोखराका संवाददाता गीता रानामगर र धनबहादुर गुरुङको उपस्थिति रहेको थियो। दुवै पक्षले मिडिया सहकार्यले कार्यक्रमलाई भव्य बनाउन र अधिकतम दर्शकसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।
बिहीबार हुने ‘ककस प्रोग्राम-२०२६’ मा कास्की क्षेत्र नम्बर २ का उम्मेदवारहरूबीच प्रत्यक्ष संवाद हुनेछ। कार्यक्रममा
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का रश्मि आचार्य,नेपाली कांग्रेसका माधवप्रसाद बास्तोला,नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का हेमराज थापा पराजुली,राष्ट्रिय स्वतन्त्र पार्टीका उत्तमप्रसाद पौडेल,राष्ट्रिय प्रजातन्त्र पार्टीका हेमजंग गुरुङ,उज्यालो पार्टी नेपालका कुशल गुरुङ,मंगोल नेशनल अर्गनाइजेशनका ओलबहादुर गुरुङ र नेशनल रिपब्लिक नेपालका ज्ञानराज गुरुङ सहभागी हुनेछन्।
यसैगरी स्वतन्त्र उम्मेदवार निरञ्जन कोइराला र विष्णु प्रसाद तिमिल्सिना पनि संवादमा सहभागी हुने जेसीआई पोखराले जनाएको छ। बिहान ११ बजेदेखि सुरु हुने संवाद कार्यक्रमको सहजीकरण पत्रकार दीपेन्द्र श्रेष्ठले गर्नेछन्। निर्वाचनको पूर्वसन्ध्यामा उम्मेदवारबीच हुने खुला बहसलाई मतदाताले प्रत्यक्ष अवलोकन गर्न पाउने भएकाले कार्यक्रमलाई अर्थपूर्ण लोकतान्त्रिक अभ्यासका रूपमा हेरिएको छ।
