
पोखरा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) कास्की क्षेत्र नम्बर २ का उम्मेदवार रश्मि आचार्यले जनताले नेता खोज्ने होइन, नेताले जनता खोज्ने राजनीतिक संस्कार विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। बुधबार पोखरा महानगरपालिका वडा नम्बर १५ मा आयोजित मतदाता भेटघाट कार्यक्रममा बोल्दै उनले आफू बाल्यकालदेखि नै जनताको सेवक बन्न राजनीतिमा लागेको उल्लेख गरे।
“जनताका साना-साना काम पनि प्रभावकारी नीति र कानुनको अभावमा अल्मलिएका छन्। भएका योजनाको काम गुणस्तरीय नभएको भन्ने गुनासो व्यापक छ,” आचार्यले भने, “यी समस्या समाधानका लागि स्पष्ट नीति र बलियो कानुन आवश्यक छ।”
निर्वाचित भएपछि नियमित कार्यतालिका बनाएर वडास्तरमै पुग्ने र स्थानीयसँग प्रत्यक्ष संवाद गर्ने उनले बताए। “जितेपछि निराकार हुने होइन, हिजो जस्तै जनतासँगै रहनेछु,” उनले भने, “स्थानीय आवश्यकताका विकास-निर्माणमा अगुवाइ र सहकार्य गर्छु।”
उनले आफ्नो प्रतिबद्धता पत्र मतदाताकै सुझावका आधारमा तयार गरिएको भन्दै त्यसलाई सृजनात्मक ढंगले कार्यान्वयन गर्ने उद्घोष गरे। कास्की-२ अन्तर्गतका ११ वटै वडाको सन्तुलित विकासलाई प्राथमिकतामा राख्दै बृहत् पोखरा महानगरलाई व्यवस्थित पर्यटन सहरका रूपमा विकास गर्ने उनको योजना छ।
कार्यक्रममा एमालेका वरिष्ठ नेता सोमनाथ अधिकारी ‘प्यासी’, केन्द्रीय सदस्य प्रभा कोइराला र मीना कुमारी गुरुङ, पूर्व केन्द्रीय सदस्य भीम कार्की, अनेम संघ केन्द्रीय सल्लाहकार सिर्जना शर्मा, एमाले कास्कीका कार्यवाहक अध्यक्ष भेषराज बराल, पोखरा महानगर कमिटी अध्यक्ष जीवनप्रसाद आचार्य लगायत प्रदेश, जिल्ला र स्थानीय तहका नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो।
