
पोखरा। प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा कास्की जिल्लामा सुरक्षा सतर्कता उच्च बनाइएको छ। प्रमुख जिल्ला अधिकारी (सिडिओ) रुद्रादेवी शर्मा नेतृत्वको टोली दुर्गम गाउँबस्तीमै पुगेर मतदानस्थलहरूको स्थलगत निरीक्षणमा जुटेको छ। प्रशासनले जिल्लाका १ सय ५३ मतदानस्थलमध्ये ५६ वटालाई ‘अति संवेदनशील’ सूचीमा राख्दै विशेष सुरक्षा योजना बनाएको छ। टोलीले बुधबार मादी गाउँपालिकाका दुर्गम बस्ती-छाचोक, तप्राङ, खिलाङ, सिक्लेस, सैमराङ र चितेपानी-पुगेर मतदानस्थलको अवस्थाबारे प्रत्यक्ष अनुगमन गरेको हो।
सिडिओ शर्मासहितको टोलीले स्थानीय जनप्रतिनिधि र विद्यालयका प्रधानाध्यापकसँग छलफल गर्दै खानेपानी, बिजुली, शौचालय, कम्पाउन्ड वाल र सिसिटिभी जडानको अवस्था बुझ्यो। भौगोलिक रूपमा विकट क्षेत्रमा मतपेटिका ढुवानी र सडक पहुँचलाई विशेष प्राथमिकता दिँदै देखिएका कमीकमजोरी तत्काल सुधार्न निर्देशन दिइएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार ५६ वटा ‘अति संवेदनशील’ ५४ वटा ‘संवेदनशील’ तथा ४३ वटा ‘सामान्य’ रहेका छन् । प्रहरी निरीक्षक गणेश पाण्डेका अनुसार भौगोलिक विकटता, सडक सञ्जाल र विगतका घटनालाई आधार मानेर वर्गीकरण गरिएको हो।
छोमरोङस्थित मतदानस्थलमा अझै सडक सञ्जाल पुगेको छैन। त्यहाँ पुग्न घान्द्रुकबाट करिब ४ घण्टा पैदल हिँड्नुपर्छ भने फर्कन साढे २ घण्टा लाग्ने बताइएको छ।
इन्टरनेट चुनौती, तर फोन सेवा उपलब्ध
जिल्लाका ११ मतदानस्थलमा इन्टरनेट सेवा नपुगे पनि नेपाल टेलिकम र एनसेलको फोन सेवा भने उपलब्ध रहेको प्रहरीले जनाएको छ। निर्वाचन सुरक्षाका लागि ८६० जना नेपाल प्रहरी, १,९३९ जना निर्वाचन प्रहरी, १२ वटा मोबाइल गस्ती टोली (महानगरमा ४, प्रत्येक गाउँपालिकामा २/२, २ वटा ‘क्युआरटी’ रिजर्भ टोली तथा २ जना साइबर प्राविधिक प्रहरी छन् ।
यस्तै १३६ वटा विद्यालय भवन, १४ वटा वडा कार्यालय र ३ वटा सामुदायिक भवन रहेका छन् । विद्यालयका खुला चौर र धेरै प्रवेश मार्गले घेराबन्दीमा चुनौती देखिएको छ भने वडा कार्यालयका साना परिसरमा भीड व्यवस्थापन चुनौतीपूर्ण हुन सक्ने प्रहरीको विश्लेषण छ।
मतदानको दिन अस्पताल, एम्बुलेन्स र दमकल सेवा ‘स्ट्यान्डबाई’ राखिनेछ। साथै, मतपेटिका ढुवानीमा उच्च सतर्कता अपनाइने प्रशासनले जनाएको छ। निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन प्रशासन, प्रहरी र स्थानीय तहबीच समन्वय तीव्र बनाइएको छ।
