
पोखरा । “स्वास्थ्य र समृद्धिका लागि खेलकुद” भन्ने मूल नारासहित स्थापित नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सहारा क्लबका प्रवास शाखाहरूलाई स्वागत तथा सम्मान गरेको छ। शनिबार पोखरामा आयोजित कार्यक्रममा जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङ र मञ्चका अध्यक्ष एमबी आस्था मगरले सहारा युकेसहित प्रवास शाखाका प्रतिनिधिहरूलाई खादा तथा सम्मानपत्र प्रदान गर्दै सम्मान व्यक्त गरे।
कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले सहारा युकेले नेपाली खेलकुद, विशेषगरी फुटबल विकासमा पुर्याएको योगदान प्रशंसनीय रहेको उल्लेख गरे। उनले आगामी दिनमा पनि खेलकुदको उन्नयनका लागि सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
त्यसैगरी तमु धिं युकेका अध्यक्ष कमल गुरुङले नेपाली खेलाडीहरूलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउँदै खेलाडीहरू असहज नहोस् भन्ने उद्देश्यले सहकार्यलाई थप मजबुत बनाइने बताए।
उनले विगतमा पनि मञ्चद्वारा आयोजना हुने पोखरा स्पोर्टस् अवार्डलाई सहयोग गर्दै आएको स्मरण गर्दै आगामी दिनमा पनि साथ दिने विश्वास दिलाए। सहारा युकेका अध्यक्ष शारदा गुरुङ, सहारा अष्ट्रेलियाका अध्यक्ष सिद्धार्थ पौडेल, सहारा युकेका उपाध्यक्ष पिताम्बर गुरुङ तथा सहारा हङकङका संस्थापक अध्यक्ष दीपक गुरुङलगायतले खेलकुद क्षेत्रको समग्र विकासका लागि सहकार्य र सहयोगलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।
मञ्चका अध्यक्ष एमबी आस्था मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव परशुराम शर्माले स्वागत मन्तव्य राखेका थिए। खेलकुदको विकास, खेलाडीको हौसला अभिवृद्धि तथा अन्तर्राष्ट्रिय सहकार्य सुदृढ गर्ने लक्ष्यसहित आयोजित उक्त कार्यक्रमले प्रवास र स्वदेशबीचको सम्बन्धलाई थप मजबुत बनाएको सहभागीहरूले बताएका छन्।

