कास्की-१ मा रास्वपाको ठूला वाचा: शिक्षा-स्वास्थ्य निःशुल्कदेखि ‘इको-टुरिज्म सर्किट’ र खेलकुद क्रान्तिसम्म

Share:

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट कास्की निर्वाचन क्षेत्र नम्बर-१ का उम्मेदवार गनेस पौडेलले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सार्वजनिक गरेको वाचापत्रले यतिबेला राजनीतिक वृत्तमा तरंग पैदा गरेको छ। सुशासन, दिगो विकास र नागरिक अधिकारलाई केन्द्रमा राख्दै सार्वजनिक गरिएको घोषणापत्रमा शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, उद्योग-रोजगारदेखि सामाजिक न्यायसम्मका विषयलाई प्राथमिकताका साथ समेटिएको छ।

पौडेलले विद्यालय शिक्षा ऐनमार्फत सबैको हित सुनिश्चित गर्ने, प्रत्येक वडामा पुस्तकालय स्थापना गर्ने तथा प्रत्येक पालिका वा १० हजार विद्यार्थीलाई पायक पर्ने गरी नमुना विद्यालय विकास गर्ने प्रतिबद्धता जनाएका छन्। स्वास्थ्य क्षेत्रमा आधारभूत सेवा निःशुल्क उपलब्ध गराउने, सबै नागरिकलाई स्वास्थ्य बीमामा आबद्ध गराउने र ‘स्वस्थ नेपाल’ अभियानलाई प्रभावकारी बनाउने योजना अघि सारिएको छ।

पर्यटनलाई उद्योगसरह सुविधा उपलब्ध गराउँदै पदमार्ग संरक्षण ऐन जारी गर्ने तथा कास्कीका प्रमुख ताल र पर्यटकीय गन्तव्यलाई जोड्ने “इको-टुरिज्म सर्किट” निर्माण गर्ने महत्वाकांक्षी योजना पनि वाचापत्रमा समेटिएको छ। कृषि क्षेत्रतर्फ ‘अबको किसान कोरु’ कार्यक्रम लागू गर्दै अर्गानिक, बायो-डायनामिक र पर्माकल्चर कृषिको प्रवर्द्धन तथा बिचौलिया रहित किसान बजार स्थापना गर्ने लक्ष्य राखिएको छ।

उद्योग र रोजगारी प्रवर्द्धनका लागि नयाँ उद्योग दर्ता तथा खारेजीमा एकद्वार प्रणाली लागू गर्ने, स्टार्टअप र साना उद्योगलाई वित्तीय सहुलियत दिने तथा रोजगारी पोर्टल र श्रम बैंक स्थापना गर्ने प्रतिबद्धता जनाइएको छ। भूमिहीन दलित र सुकुम्बासीको भूमि अधिकार सुनिश्चित गर्ने, अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने र भूमिस्वामित्वलाई आधारभूत अधिकारका रूपमा स्थापित गर्ने योजना पनि समेटिएको छ।

पूर्वाधार विकासतर्फ ग्रामीण सडक स्तरोन्नति, ‘युटिलिटी डक्ट’ प्रणालीमार्फत सडक पटक-पटक खन्ने समस्याको समाधान तथा पोखरा–त्रिवेणी र पोखरा–कोरला सडक विस्तारको पहल गरिने उल्लेख छ। वातावरण संरक्षणका लागि वैकल्पिक खानेपानी मुहान संरक्षण, नदी-ताल र वन जोगाउन स्थानीय सहभागिता बढाउने तथा फोहोर व्यवस्थापनमा चक्रीय अर्थतन्त्र मोडल लागू गर्ने योजना अघि सारिएको छ।

खेलकुद पूर्वाधार विस्तार पनि प्राथमिकतामा परेको छ। पोखरास्थित रंगशालाको स्तरोन्नति, निजी तथा सामुदायिक स्पोर्ट्स एकेडेमीलाई अनुदान र प्रत्येक १० हजार जनसंख्यामा एक खेल मैदान निर्माण गर्ने लक्ष्य राखिएको छ। यसले युवालाई खेलकुदतर्फ आकर्षित गर्दै स्वस्थ र अनुशासित समाज निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।

सामाजिक तथा राजनीतिक न्यायका क्षेत्रमा विभेदसम्बन्धी उजुरीको छिटो सुनुवाइका लागि द्रुत सहायता डेस्क स्थापना, सीमान्तकृत समुदायको प्रतिनिधित्व अनुगमन तथा लैङ्गिक र सामाजिक हिंसामा संलग्न दोषीमाथि कडा कारबाहीको प्रतिबद्धता जनाइएको छ। पीडितको उपचार, पुनर्स्थापना र जीवनयापनमा सहयोग गर्ने व्यवस्था गरिने पनि उल्लेख छ।

उम्मेदवार पौडेलले वाचापत्रलाई “कागजी घोषणा मात्र नभई कार्यान्वयन गर्ने प्रतिवद्धता” भएको दाबी गर्दै कास्की–१ लाई सुशासन र दिगो विकासको नमुना क्षेत्र बनाउने लक्ष्य राखेको बताएका छन्। रास्वपाले वाचापत्र डिजिटल माध्यमबाट समेत सार्वजनिक गर्दै मतदातालाई अध्ययन, सुझाव र सहकार्यका लागि आह्वान गरेको छ।

कमेन्ट गर्नुहोस्
Share: