धादिङ बस दुर्घटना: ज्यान गुमाउने १९ जनाकै सनाखत

Share:

पोखरा । धादिङको बेनीघाट रोराङ गाउँपालिका-५ भैँसीगौडास्थित पृथ्वी राजमार्गमा शनिबार बिहान भएको यात्रुबाहक बस दुर्घटनामा ज्यान गुमाउने सबै १९ जनाको सनाखत भएको छ। पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको ग २ ख १४२१ नम्बरको बस सडकबाट करिब २०० मिटर तल त्रिशूली नदी किनारमा खसेको थियो।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार मृतकमध्ये तनहुँका ५, कास्कीका ४, ३ विदेशी नागरिक, काठमाडौँ र स्याङ्जाका २/२, तथा मोरङ र धादिङका १/१ जना रहेका छन्। कार्यालयका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता प्रकाश दाहालले प्रारम्भमा केही शवको पहिचानमा कठिनाइ भए पनि आफन्तको सम्पर्क र कागजातका आधारमा सबैको सनाखत सम्पन्न भएको जानकारी दिए। सुरुमा ९ जनाको र पछि थप १० जनाको पहिचान खुलेको थियो।

दुर्घटनामा ज्यान गुमाउने विदेशी नागरिकमा बेलायती २४ वर्षीय स्टुअर्ट डोमिनिक इथान, ३२ वर्षीय भारतीय मनिष सुक्ला र ४० वर्षीया चिनियाँ झाङ चुनचुन रहेका छन्।

कास्कीका मृतकमा पोखरा महानगरपालिका–३० का ४० वर्षीय बिबेक बस्तोला, वडा–१४ की २१ वर्षीया अञ्जली क्षेत्री, वडा–१९ का २६ वर्षीय सुजित नेपाली र माछापुच्छ्रे गाउँपालिका–३का २१ वर्षीय रोहित नेपाली रहेका छन्।

तनहुँका मृतकमा व्यास नगरपालिका-४ का ४० वर्षीय ओमकुमार मल्ल, शुक्लागण्डकी नगरपालिकाका ६३ वर्षीय रुद्रप्रसाद ढकाल, ५५ वर्षीया विष्णुमाया ढकाल, २० वर्षीया अर्चना पौडेल तथा भिमदत्त नगरपालिका–६ का ४५ वर्षीय हरिप्रसाद सिग्देल रहेका छन्।

स्याङ्जाका वालिङ–१४ घर भई हाल काठमाडौँको नागार्जुन–६ बस्ने ६३ वर्षीय चन्द्रबहादुर कुँवर र पुतलीबजार नगरपालिका–६ का ४५ वर्षीय घनश्याम सुवेदीको पनि मृत्यु भएको छ। काठमाडौँ महानगरपालिका–६ बौद्धका ४२ वर्षीय लोप्साङ गोले र वडा–३२ बुद्धनगरकी ३३ वर्षीया अनिशा महर्जन पनि दुर्घटनामा परेका छन्।

त्यसैगरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–४ का ३० वर्षीय इन्जिनियर ठकुरी, पाल्पाको तानसेन नगरपालिका–२ का ५५ वर्षीय नबिन्द्र श्रेष्ठ तथा मोरङ उर्लाबारी–१ की २७ वर्षीया हिरा चौधरीको पनि ज्यान गएको प्रहरीले जनाएको छ।

बसमा चालकसहित ४४ जना सवार थिए, जसमध्ये २९ पुरुष र १५ महिला रहेका थिए। दुर्घटनामा घाइते भएका २५ जनाको नेपाल नेशनल अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

दुर्घटनापछि प्रहरी र स्थानीयले उद्धार गरी घाइतेलाई अस्पताल पठाएका थिए भने मृतकको शव पोस्टमार्टमका लागि व्यवस्थापन गरिएको छ।

यसैबीच, दुर्घटनाको छानबिनका लागि सरकारले गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको गृह प्रवक्ता आनन्द काफ्लेले जानकारी दिएका छन्।

गृहमन्त्री ओमप्रकाश अर्यालले गएराति धादिङ पुगेर घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। उनले कलङ्कीस्थित नेपाल नेशनल अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा पुगेर उपचाररत घाइतेको अवस्था बुझ्दै आवश्यक निर्देशन दिएका छन्।

कमेन्ट गर्नुहोस्
Share: