“एमाले कमजोर हुने दिवा सपना नदेख्नुहोस्”- एमाले उम्मेदवार आचार्य

Share:

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कास्की क्षेत्र नम्बर-२ का प्रतिनिधिसभा उम्मेदवार रश्मि आचार्यले एमालेलाई कमजोर पार्ने दिवा सपना नदेख्न आग्रह गर्दै पार्टी एकढिक्का भएर चुनावी मैदानमा उत्रिएको बताएका छन्।

केन्द्रीय सदस्य एवं कास्की जिल्ला इन्चार्ज कृष्ण थापाको नेतृत्वमा चुनावी अभियान तीव्र पारिएको उल्लेख गर्दै आचार्यले नेता-कार्यकर्ता तथा क्षेत्र नम्बर-२ का मतदाताको उत्साहजनक साथले आफ्नो विजय सुनिश्चित भइसकेको दाबी गरे।

“कास्की-२ मा एमाले कमजोर भएको भन्ने निराधार हल्लालाई जनताको अपार माया र प्रेरणाले असत्य साबित गरिसकेको छ,” आचार्यले भने, “एमाले एकजुट भएर चुनावी मैदानमा छ। कसैले हल्ला फैलाउँदैमा एमाले कमजोर बन्दैन। भारी मतका साथ जित्नेमा म ढुक्क छु।”

सोमबार पोखरा महानगरपालिका-११ मा आयोजित भेटघाट कार्यक्रममा बोल्दै उनले युवा पुस्ताको भावना समेट्दै समृद्धिको यात्रामा एमाले अघि बढेको बताए। स्पष्ट योजना र समृद्धिको खाका लिएर जनतामाझ पुगेको उल्लेख गर्दै उनले अफवाह र भ्रम चिर्न जनताको साथ नै पर्याप्त रहेको जिकिर गरे।

कास्की-२ को मध्यभागमा अवस्थित पर्यटकीय सम्भावना बोकेको काहुँडाँडालाई ‘लिङ्किङ हिल’का रूपमा विकास गर्नुपर्ने उनको प्रस्ताव छ। उत्तर र दक्षिण क्षेत्रलाई जोड्ने संरचना निर्माणसँगै सांस्कृतिक तथा धार्मिक पर्यटनको विस्तार र प्रवर्द्धनमा विशेष ध्यान दिने उनले बताए।

“काहुँसहित पोखरा-११ लाई सांस्कृतिक र धार्मिक पर्यटनको विशेष केन्द्र बनाउन सकिन्छ,” आचार्यले भने, “विकासको गति प्रभावकारी र परिणाममुखी बनाउन म प्रतिबद्ध छु।”

कमेन्ट गर्नुहोस्
Share: