
पोखरा। पोखरा उद्योग वाणिज्य संघले आफ्नो ७२औँ वार्षिकोत्सवको अवसर पारेर पोखरा रंगशालामा अत्याधुनिक पानी ट्याङ्की (फिल्टर मेसिन) स्थापना गरेको छ। जिल्ला खेलकुद विकास समितिमार्फत् करिब १ लाख ५० हजार रुपैयाँ लागतमा निर्माण गरिएको उक्त मेसिन सोमबार औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।
मेसिनको अनावरण नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले गरेका थिए। अनावरणसँगै उक्त पानी ट्याङ्की जिल्ला खेलकुद विकास समिति कास्कीलाई हस्तान्तरण गरिएको संघका अध्यक्ष गोकर्ण कार्कीले जानकारी दिए।
अध्यक्ष कार्कीका अनुसार मेसिन बहुस्तरीय शुद्धीकरण प्रणालीयुक्त छ, जसमा सेडिमेन्ट फिल्टर, कार्बन फिल्टर र यूभी प्रणाली जडान गरिएको छ। यसबाट निस्कने पानी जीवाणुरहित, सुरक्षित र पिउनयोग्य हुनेछ। साथै, मेसिनबाट तातो र चिसो दुवै प्रकारको पानी उपलब्ध हुने भएकाले रंगशालामा आउने खेलाडी तथा दर्शकलाई स्वच्छ पानीको सहज सुविधा मिल्ने अपेक्षा गरिएको छ।
संघले वार्षिकोत्सवकै अवसरमा फिल्टर मेसिन रहेको स्थान वरपर व्यक्तिगत लागतमा पाँचवटा फलामे बेन्चसमेत उपलब्ध गराएको जनाएको छ। कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको यस्तो सहयोगले खेलकुद विकासमा सकारात्मक योगदान पुग्ने बताए। खेल क्षेत्रको उन्नतिका लागि निजी क्षेत्रको सक्रिय सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।
जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङले सहयोगका लागि आभार व्यक्त गर्दै यसले खेलाडीलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गरे। कार्यक्रममा संघका उपाध्यक्ष बलराम आचार्यले धन्यवाद ज्ञापन गरेका थिए भने सञ्चालन संघकी महासचिव शोभा गौतमले गरेकी थिइन्। महासचिव गौतमका अनुसार उक्त फिल्टरले एक पटकमा ६ हजार लिटर पानी शुद्ध गर्न सक्ने क्षमता राख्दछ।


