
पोखरा। प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरू घरदैलो अभियानमा व्यस्त छन्। तर प्रत्येक चुनावमा दोहोरिने एउटै प्रश्न फेरि उठेको छ-“जग्गाधनी पुर्जा कहिले पाइन्छ ?” कास्की निर्वाचन क्षेत्र नम्बर-२ का नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार रश्मि आचार्य सोमबार पोखरा महानगरपालिका-१७स्थित हनुमान टोल पुगेका बेला स्थानीयवासीले यही ज्वलन्त प्रश्न अघि सारे।
हनुमान टोल विकास संस्थाकी अध्यक्ष रिकमाया गुरुङका अनुसार २०३६ सालदेखि कित्ता नम्बर २९९ र ३०० मा रहेको करिब ५८ रोपनी जग्गामा तीन सयभन्दा बढी परिवार बसोबास गर्दै आएका छन्।
“दुई दशकभन्दा बढी जिल्ला प्रशासनदेखि सर्वोच्च अदालतसम्म मुद्दा लड्यौं, भूमाफियाको चंगुलबाट जग्गा जोगायौं,” उनले भनिन्, “तर अझैसम्म लालपुर्जा नपाउँदा सधैं दोयम दर्जाको नागरिकजस्तो महसुस गर्नुपरेको छ।”
स्थानीयको सक्रियता र जनप्रतिनिधिको सहयोगमा टोलमा सडक, खानेपानी र विद्युत् जस्ता पूर्वाधार बने पनि कानुनी स्वामित्व नहुँदा असुरक्षा कायमै रहेको उनीहरूको गुनासो छ।
स्थानीयको गुनासो सुनेपछि उम्मेदवार आचार्यले भने, “घर छ, तर जग्गा छैन-यो पीडा धेरै परिवारले भोगिरहेका छन्। भूमिहीनलाई जग्गाको मालिक बनाउने काम मेरो प्राथमिकता हुनेछ।”
भूमि समस्या केवल राजनीतिक मुद्दा नभई सामाजिक न्यायसँग जोडिएको विषय भएको उल्लेख गर्दै उनले लालपुर्जा वितरण र आवास कार्यक्रमलाई व्यवस्थित रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।
एमालेका केन्द्रीय सदस्यसमेत रहेका आचार्यले संघ, प्रदेश र स्थानीय तहबीच समन्वयमार्फत दीर्घकालीन समाधान खोज्नुपर्ने आवश्यकता औंल्याए। अस्थिर सरकारका कारण राष्ट्रिय भूमि समस्या समाधान आयोगले अपेक्षित काम गर्न नसकेको उल्लेख गर्दै उनले एमाले नेतृत्वको नौ महिने कार्यकालमा करिब ६३ हजार परिवारलाई जग्गाधनी पुर्जा वितरण गरिएको स्मरण गराए।
भूमि अधिकार अभियन्ताहरूका अनुसार मुलुकमा अझै २२ लाखभन्दा बढी नागरिक भूमि अधिकारबाट वञ्चित छन्। तीमध्ये भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासी परिवारको संख्या उल्लेखनीय छ।
कार्यक्रममा एमाले जिल्ला कमिटी सदस्य एवं वडा इन्चार्ज सुभाष ढुंगानाले पोखरा-१७ का विभिन्न भूमिहीन तथा अव्यवस्थित बस्तीमा पूर्वाधार विकासका लागि निरन्तर पहल भइरहेको बताए।
कोणसभामा वामपन्थी नेता सोमनाथ अधिकारी (प्यासी) लगायत नेता-कार्यकर्ताको उपस्थिति रहेको कार्यक्रम एमाले पोखरा–१७ का सचिव उत्तम पौडेलले सञ्चालन गरेका थिए।
