
पोखरा । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गण्डकी प्रदेशका १८ सिटमा कडा प्रतिस्पर्धा हुँदैछ। अघिल्लो निर्वाचनमा गठबन्धन गरेर मैदानमा उत्रिएका दलहरू यसपटक एक्लाएक्लै चुनावी दौडमा छन्। त्यसैले नतिजा कसको पोल्टामा पर्छ भन्ने स्पष्ट अनुमान गर्न कठिन देखिएको छ।
तर रोचक पक्ष के छ भने, निर्वाचन १८ सिटमा भए पनि दलहरूले गरेको दाबी जोड्दा संख्या ३६ पुग्छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ९ देखि १२ सिट जित्ने दाबी गरेको छ भने नेपाली कांग्रेसले कम्तीमा १० सिट जित्ने दाबी गरिरहेको छ ।
यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले कम्तीमा ८ सिट, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले ५ सिट, राष्ट्रिय जनमोर्चाले बागलुङ–१ मा जित्ने दाबी गरिरहेका छन् ।
रास्वपा गण्डकीका महामन्त्री नवीन त्रिपाठीका अनुसार नवलपुर-१, गोरखाका दुवै क्षेत्र, कास्कीका तीनै क्षेत्र, स्याङ्जा-१ र तनहुँका दुवै क्षेत्रमा पार्टीको बलियो स्थिति छ। स्याङ्जा-२, नवलपुर-२ र बागलुङमा पनि जित सम्भावना रहेको उनको भनाइ छ। “९ सिट त सहजै जित्छौँ, १२ सिटसम्म पुग्नेमा ढुक्क छौँ,” उनले दाबी गर्दै भने ।
गोरखाका दुवै क्षेत्रमा माओवादी केन्द्रले जित दोहोर्याउने दाबी गरेको छ। २०७९ मा गोरखा-२ बाट पुष्पकमल दाहाल प्रचण्ड विजयी भएका थिए भने बागलुङ-२ बाट देवेन्द्र पौडेल निर्वाचित भएका थिए। यसपटक जनमोर्चासँग तालमेल गर्दै बागलुङका दुवै क्षेत्रमा जित निकाल्ने उनीहरूको रणनीति छ।
पर्वतमा कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा हुने आँकलन छ। कांग्रेसका अर्जुन जोशी पुनः जित्ने दाउमा छन् भने एमालेका पदम गिरी ह्याट्रिक तयारीमा छन्। तेस्रो धारबाट माओवादीका मनहरि तिमिल्सिना पनि मैदानमा छन्।
कांग्रेसले पर्वत, मुस्ताङ, मनाङ, गोरखाको एक क्षेत्र, कास्कीका दुई क्षेत्र, लमजुङ, स्याङ्जाको कम्तीमा एक, तनहुँका दुवै र बागलुङको एक क्षेत्रमा जित निकाल्ने दाबी गरेको छ।
उता एमालेले कास्कीका तीन सिटसहित पर्वत र लमजुङ दोहोर्याउने, साथै कम्तीमा ८ सिट जित्ने लक्ष्य सार्वजनिक गरेको छ। गोरखाका दुवै क्षेत्रलाई एमालेले ‘पहेँलो सूची’मा राखेको जनाएको छ।
गणितभन्दा फरक नतिजा ?
१८ सिटका लागि प्रतिस्पर्धा भइरहँदा दलहरूको दाबी भने दोब्बर छ। चुनावी माहोल तातिँदै जाँदा मतदाताको अन्तिम निर्णयले नै कसको रणनीति सफल हुन्छ भन्ने तय गर्नेछ।
गण्डकीको चुनावी मैदानमा यसपटक गठबन्धनको सहाराबिना दलहरूबीच सीधा प्रतिस्पर्धा छ, जसले परिणामलाई झन् रोचक र अनिश्चित बनाएको छ।
