नेपाल पत्रकार महासंघ कास्कीद्वारा आयोजित तीन दिने साइबर सुरक्षा तालिम सम्पन्न

Share:

पोखरा । डिजिटल युगमा बढ्दो साइबर जोखिमलाई मध्यनजर गर्दै नेपाल पत्रकार महासंघ कास्कीले आयोजना गरेको तीन दिने साइबर सुरक्षा सम्बन्धी तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोग तथा क्यान महासंघ कास्कीको प्राविधिक सहकार्यमा फागुन १० गतेदेखि सुरु भएको तालिममा ७५ जना पत्रकार तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो।

समापन कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्माले डिजिटल प्रविधिको विस्तारसँगै साइबर अपराध पत्रकारका लागि गम्भीर चुनौती बन्दै गएको उल्लेख गरे। पत्रकार स्वयं सचेत भई आम नागरिकलाई समेत सचेत गराउन तालिमले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।

त्यसैगरी नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले डिजिटल माध्यममार्फत हुने ठगी तथा सुरक्षा चुनौतीबाट जोगिन यस्ता तालिम उपयोगी हुने बताए।

सहभागीका तर्फबाट पत्रकार घनश्याम पाण्डे र रोशनी गुरुङले तालिम प्रभावकारी रहेको अनुभव सुनाउँदै आगामी दिनमा अझ बढी प्रयोगात्मक अभ्याससहित तालिम सञ्चालन गर्न सुझाव दिए।

साइबर सुरक्षा विज्ञ प्रमोद न्याछ्योंले इन्टरनेटमार्फत हुने ह्याकिङ, डाटा चोरी, भाइरस आक्रमण तथा अनाधिकृत पहुँचजस्ता जोखिमबाट जोगिने उपायबारे सहजिकरण गरे।

त्यस्तै गण्डकी कलेज अफ इन्जिनियरिङ एण्ड साइन्सका उपप्राध्यापक ई। सन्तोष पन्थ, नबिल बैंक गण्डकी प्रदेश प्रमुख हरि ढकाल तथा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव निरीक्षक शीवा थापाले आ-आफ्नो क्षेत्रसँग सम्बन्धित डिजिटल सुरक्षाका विषयमा सहजिकरण गरेका थिए।

माधवप्रसाद बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सहसचिव मधु अधिकारीले गरेका थिए। तालिमले पत्रकारहरूलाई साइबर सुरक्षाप्रति सजग र सक्षम बनाउँदै सुरक्षित डिजिटल अभ्यासतर्फ उन्मुख गराएको आयोजकले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: