जन्मथलो भरतपोखरीबाटै एमाले उम्मेदवार रश्मि आचार्यको सम्पत्ति विवरण सार्वजनिक

Share:

पोखरा । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट कास्की क्षेत्र नम्बर २ का उम्मेदवार रश्मि आचार्य ले आफ्नो जन्मथलो भरतपोखरी बाटै सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।

बिहीबार भरतपोखरीमा आयोजित मतदाता भेटघाट तथा युवा भेलामा आचार्यले पारदर्शिता, सुशासन र जवाफदेहिताप्रति आफू प्रतिबद्ध रहेको सन्देश दिँदै सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्।

सार्वजनिक विवरणअनुसार आचार्यको आफ्नै नाममा हाल कुनै व्यक्तिगत सम्पत्ति छैन। पुख्र्यौली जग्गा–जमिन उनका बुवाको नाममा रहेको छ। आफूले लेखन कार्यबाट प्राप्त गरेको आम्दानी र श्रीमतीको जागिरबाट हुने आय नै परिवारको मुख्य आम्दानी स्रोत रहेको उनले स्पष्ट पारे।

“इमानदारी र नैतिकतालाई उच्च आदर्श मानेर अघि बढेको छु। अहिलेसम्म कसैसँग बेइमानी गरेको छैन, भोलि पनि गर्ने छैन,” आचार्यले भने, “आज मसँग जे-जति छ, तपाईँहरूलाई जानकारी गराएको छु, भोलि पनि नियमित रूपमा जानकारी गराउनेछु।”

उनले पदमा निर्वाचित भएपछि मात्र होइन, उम्मेदवारीकै चरणमा सम्पत्ति विवरण सार्वजनिक गर्नु जनताप्रतिको उत्तरदायित्व भएको उल्लेख गरे। विजयी भएपछि मात्रै विवरण सार्वजनिक गर्ने परम्पराभन्दा अघि बढेर आम मतदातालाई सुसूचित गर्ने उद्देश्यले अग्रिम रूपमा विवरण सार्वजनिक गरेको उनको भनाइ थियो।

समृद्धि र विकासलाई ‘अर्जुन दृष्टि’ बनाउँदै निःस्वार्थ सेवाभावका साथ उम्मेदवारी दिएको बताउँदै आचार्यले आफ्नै जन्मभूमिका बासिन्दालाई साक्षी राखेर सम्पत्ति विवरण सार्वजनिक गर्नु राजनीतिक इमानदारीताको उदाहरण भएको स्थानीयवासीले बताएका छन्।

जन्मथलोबाटै पारदर्शिताको सन्देश दिँदै गरिएको यो कदमले कास्की-२ को चुनावी प्रतिस्पर्धामा नयाँ बहससमेत सुरु गराएको छ।

कमेन्ट गर्नुहोस्
Share: