‘फेसबुकको हल्लामा होइन, काम हेरेर भोट दिनुस्’- सांसद गुरुङ

Share:

पोखरा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता एवं गण्डकी प्रदेश सभा सदस्य वेदबहादुर गुरुङ (श्याम) ले सामाजिक सञ्जालमा फैलिने हल्ला र चर्चाको भरमा मतदान नगर्न मतदातालाई आग्रह गरेका छन्। बुधबार मादी गाउँपालिका-२ ताबतिबका स्थानीयसँगको भेटघाटमा बोल्दै उनले फेसबुकमा आउने अपुष्ट सामग्रीका आधारमा धारणा बनाउँदा भोलिको विकास-निर्माणमा असर पर्न सक्ने चेतावनी दिए।

“न पृष्ठभूमि बुझेको छ, फेसबुकको भरमा, हल्लाको भरमा हामी लाग्यौँ भने हाम्रो भोलि विकास निर्माणको काममा असर पर्न सक्छ,” उनले भने, “त्यसैले वेदबहादुर गुरुङ, मनबहादुर गुरुङ र बैनबहादुर अधिकारी क्षेत्रीको अनुहार हेरेर यो ठाउँमा काम गर्ने मान्छे र पार्टी एमालेलाई जिताउनुपर्छ।”

उनले मादी क्षेत्रमा सडक विस्तार, वडा कार्यालय भवन निर्माण तथा स्वास्थ्य संस्थाको स्तरोन्नतिजस्ता काम एमालेकै अग्रसरतामा सम्पन्न भएको वा भइरहेको दाबी गरे। टाढाका उम्मेदवारभन्दा स्थानीय भूगोल बुझेका, यहीँ हुर्केका र परिपक्व नेतृत्वलाई जिताउँदा कास्की-१ का लागि फलदायी हुने उनको भनाइ थियो।

“उहाँहरूले के गर्नुभयो, उहाँको पार्टीले के ग¥यो थाहा छैन। हामीभन्दा टाढाका मान्छे हुनुहुन्छ। त्यसकारण चिनेको, यहीँ हुर्केको परिपक्व राजनीतिज्ञलाई जिताउनुपर्छ,” उनले थपे। उनले कास्की-१ को भूगोल, आवश्यकता र सम्भावना राम्रोसँग बुझेका उम्मेदवारका रूपमा बैनबहादुर अधिकारी क्षेत्री नै उपयुक्त विकल्प भएको दाबी गरे।

निर्वाचन नजिकिँदै जाँदा सामाजिक सञ्जालको प्रभाव बढिरहेका बेला गुरुङको अभिव्यक्तिलाई चुनावी सन्देशका रूपमा हेरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: