रामज्योति माविको ४६औँ वार्षिकोत्सव: शैक्षिक प्रगतिमा प्रशंसा, उत्कृष्ट विद्यार्थी सम्मानित

Share:

पोखरा । रामज्योति माध्यमिक विद्यालय, पोखरा महानगरपालिका-२६ सक्नेरीको ४६औँ वार्षिकोत्सव अभिभावक दिवस तथा पुरस्कार वितरण समारोहका रूपमा उत्साहपूर्वक सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुलबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन शिक्षा महाशाखा पोखराका वरिष्ठ शिक्षा अधिकृत बद्रिनाथ सुवेदीले गरेका थिए। उद्घाटन मन्तव्यका क्रममा उनले विद्यालयले शैक्षिक गुणस्तर अभिवृद्धिमा हासिल गरेको प्रगतिप्रति प्रशंसा व्यक्त गर्दै आगामी दिनमा अझ उत्कृष्ट नतिजा ल्याउने विश्वास व्यक्त गरे।

कार्यक्रममा नेपाल सरकार सामाजिक विकास तथा खेलकुद मन्त्रालयका उपसचिव प्रकाश देवकोटा, पोखरा महानगरपालिका-२६ का वडाध्यक्ष नरेन्द्र थापा, लक्ष्मी आदर्श बहुमुखी क्याम्पस प्रमुख तारादेवी शर्मा, पूर्व स्रोत व्यक्ति हेमराज आचार्य, पूर्व वडाध्यक्ष नारायणप्रसाद बराल, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्षहरू रंगनाथ तिमिल्सिना र रमेश रानाभाट, शिक्षक अभिभावक संघका पूर्व अध्यक्ष गिरिराज गौतम, पूर्व प्रधानाध्यापक सूर्यनाथ बराल, वडा शिक्षा समिति सदस्य रमेश भट्टराई, लेखनाथ खानेपानीका अध्यक्ष मुरारी शर्मा, लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुली, विद्यार्थी स्वेच्छा परियार र अभिषेक विक लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

विद्यालयका प्रधानाध्यापक गुमनाथ लामिछानेले आर्थिक वर्ष ०८१/८२ को आर्थिक प्रतिवेदन तथा भावी योजना प्रस्तुत गर्दै पूर्वाधार विकास र शैक्षिक सुधारका आगामी कार्यक्रमबारे जानकारी गराए। समारोहमा वर्षभरि विभिन्न शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो। साथै विद्यार्थीहरूले सांस्कृतिक नृत्य, गीत तथा विविध सिर्जनात्मक प्रस्तुति मार्फत कार्यक्रमलाई थप आकर्षक बनाएका थिए।

कमेन्ट गर्नुहोस्
Share: