फिफाद्वारा एन्फा अध्यक्ष थापालाई १० वर्ष प्रतिबन्ध, २१ लाख जरिवाना

Share:

काठमाडौँ, ३० कात्तिक/ भ्रष्टाचारको आरोपमा अखिल नेपाल फुटबल संघ(एन्फा)का अध्यक्ष गणेश थापालाई फिफाको अनुशासन कमिटीले सबैखाले फुटबल गतिविधिबाट १० वर्षका लागि प्रतिबन्ध लगाएको छ । प्रतिबन्धसहित थापामाथि करिव २१ लाख रूपैयाँ जरिवाना गर्ने निर्णय पनि गरेको छ ।

फिफाद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘उनीमाथि राष्ट्रिय र अन्तर्राष्ट्रिय फुटबलका सबैखाले गतिविधिमा आजदेखि लागू हुने गरी प्रतिबन्ध लगाइएको छ । थापाले सन् २००९ र २०११ को फिफा चुनावमा गलत काम गरेको, विभिन्न समयमा व्यक्तिगत र पारिवाररिक लाभका लागि रकम लिएको, भ्रष्टाचार गरेको जस्ता अभियोग फिफाले लगाएको छ ।

ह्यान्स जोचिमले नेतृत्व गरेको स्वतन्त्र अनुशासन कमिटीले थापालाई प्रतिबन्ध गर्ने निर्णय गरेको हो । डा. कर्णेल बोर्बेलीले नेतृत्व गरेको समितिले गरेको अनुसन्धानमा थापालाई दोषी देखाइएको हो । एसियाली फुटबल महासंघ (एएफसी) का पूर्वउपाध्यक्षसमेत रहेका थापाले भ्रष्टाचार गरेको तथा घुस लिएकोसहित विभिन्न धाराहरु उल्लंघन गरेको फिफाको अनुशासन समितिको ठहर छ । पासहित लाओस् फुटबल फेडरेसनका अध्यक्ष भिफेट सिहाचरलाई समेत दुई वर्ष प्रतिबन्ध लगाइएको छ ।
दुई दशकदेखि एन्फा अध्यक्ष रहेका थापा सांसद समेत हुन् । थापाले भ्रस्ट्राचार गरी अकुत सम्पत्ति कमाएको विषय चर्चामा आइरहेकै बेला गत भदौ १३ गते राप्रपा नेपालले उनलाई संसद सदस्यमा नियुक्ति गरेको थियो। उनी राप्रपा नेपालका अध्यक्ष उपपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाका आफ्नै भाई हुन्।

थापा यसअघि पनि फिफाको निलम्बनमा परेका थिए । एफसीका तत्कालीन अध्यक्ष तथा फिफाका अध्यक्षका उम्मेदवार मोहम्मद बिन हमामबाट थापाका छोरा गौरव थापाको खातामा १ लाख डलर जम्मा भएको देखिएपछि फिफाले अनुसन्धान थालेको थियो । २० वर्षदेखि एन्फाका अध्यक्षमा रहेका थापालाई गतवर्ष ५८ करोडभन्दा बढी अनियमितता गरेको संसदको सार्वजनिक लेखा समितिले ठहर गर्दै अनुसन्धानको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरेको थियो । तर, अख्तियारले थापामाथिको अनुसन्धानलाई तामेलीमा थन्क्याएको थियो ।

लेखा समितिले थापाको अध्यक्ष पद निलम्बन गरेपछि उनलाई फिफाले १२० दिन निलम्बन गरेको थियो । उनी गत असारमा फेरि एन्फा अध्यक्षमा फर्किए । तर, सोमबार फिफाको अनुशासन समितिले उनीमाथि १० वर्षे प्रतिबन्ध लगाएको छ ।

फिफाले बिहानै दिएको थियो थापालाई प्रतिबन्धको जानकारी

अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाको १० वर्षको प्रतिबन्धमा परेका अखिल नेपाल फुटबल संघ एन्फकाका अध्यक्ष गणेश थापाले आफूमाथि अन्याय भएको दावी गरेका छन् । फिफाको इथिक्स कमिटिले उनलाई १० वर्षको प्रतिबन्ध लगाउँदै झण्डै २१ लाख रुपैयाँ जरिवाना गरेलगत्तै विज्ञप्ति निकालेर थापाले भनेका छन् ‘म फिफाको निर्णयबाट दुखित छु, ममाथि अन्याय भएको छ ।’उनले विज्ञप्तिमा आफूलाई फिफाको इथिक्स कमिटिले प्रतिवन्ध लगाएको जानकारी बिहानै दिएको पनि उल्लेख गरेका छन् । फिफाको इथिक्स कमिटिले चार वर्षदेखि गरिरहेको अनुसन्धानमा आफूले पूर्ण सहयोग गरेको पनि थापाले दावी गरे ।

उनले फिफाको निर्णयबाट आफूलाई अन्याय भएको भन्दै अपिल गर्ने पनि बताएका छन् । खेलकुदसँग सम्बिन्धत निर्णयमा चित्त नबुझने खेलकुदका मुद्दा हेर्ने अन्तर्राष्ट्रिय निकाय कोर्ट अफ आर्बिट्रेसनमा पुनरावेदन गर्न पाइन्छ ।  आफ्नो अपिल सुनवाई नभएसम्म आफूले यसबारेमा थप प्रतिक्रिया नदिने पनि थापाले विज्ञप्तिमा लेखेका छन् । उनलाई फिफा र एशियाली फुटबल महासंघको चुनावमा पैसा लिएर मत दिएको, व्यक्तिगत र पारिवारिक लाभ लिएको लगायतका आरोपमा दोषि ठहर गर्दै फिफाले कारवाही गरेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: