‘सराङकोट धाम’को भिजनसहित मैदानमा वैरागी, कास्की-३ लाई अन्तर्राष्ट्रिय पर्यटकीय हब बनाउने घोषणा

Share:

पोखरा । दामोदर पौडेल ‘वैरागी’ ले कास्की क्षेत्र नम्बर ३ लाई विश्वस्तरमा चिनाउने लक्ष्यसहित ‘सराङकोट धाम’को समग्र विकास आफ्नो प्रमुख चुनावी एजेन्डा बनाएका छन्। आगामी प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा शुक्रबार पोखरा-१८ का तोरीपानी, पदेली, ग्यारजाती पार्किङ, लामागाउँ लगायतका बस्तीमा घरदैलो कार्यक्रम गर्दै उनले सराङकोटलाई केवल सूर्योदय र प्याराग्लाइडिङको गन्तव्यमा सीमित नराखी धार्मिक तथा सांस्कृतिक केन्द्रका रूपमा विकास गर्न सकिने धारणा राखे।

सराङकोट को पर्यटन सम्भावनालाई उजागर गर्दै वैरागीले पर्यटकीय पूर्वाधार विस्तार, सडक स्तरोन्नति, व्यवस्थित पार्किङ र स्वच्छता प्रवर्द्धनमार्फत अन्तर्राष्ट्रिय स्तरको गन्तव्य बनाउने योजना अघि सारे। साथै बाह्य तथा निजी लगानी आकर्षित गर्न नीतिगत सहजीकरण आवश्यक रहेको उनले बताए।

उनका अनुसार निजी-सार्वजनिक साझेदारी मोडेलमार्फत लगानी विस्तार गर्दै नयाँ पर्यटकीय संरचना निर्माण र स्थानीय स्तरमै रोजगारी सिर्जना गरिनेछ। घरदैलोका क्रममा मतदाताले विकासमुखी नेतृत्वका रूपमा वैरागीप्रति विश्वास व्यक्त गर्दै समर्थन जनाएका थिए। कास्की-३ लाई दीर्घकालीन योजनासहित पर्यटकीय ‘हब’ बनाउने लक्ष्यसहित वैरागीले ‘सराङकोट धाम’ अवधारणालाई चुनावी बहसको केन्द्रमा ल्याएका छन्।

कमेन्ट गर्नुहोस्
Share: