
पोखरा । गगन थापा नेतृत्वमा नेपाली कांग्रेसले कास्कीमा उत्साहको तरंग सिर्जना गरेको छ। पोखरामा शुक्रबार आयोजित आमसभामा पार्टी सभापति थापाले परिवर्तनको एजेन्डा प्रस्तुत गर्दै मतदातालाई विकास र सुशासनको भरोसा दिलाए।
कार्यक्रममा सहभागी कार्यकर्ता बलबहादुर थापा र रोशन हमालले भने, “यदि गगन नेतृत्वमा नआउँथे, नयाँ पार्टीको लहरले कांग्रेसलाई दुई तिहाइ पनि दिलाउने थियो। तर अहिले नयाँ नेतृत्वले जनमत फर्काएको छ। कार्यकर्तामा उत्साह छ, तर मतदातासम्म अझै पुर्याउनुपर्छ।”
कास्की कांग्रेसका सभापति किशोरदत्त बरालले स्पष्ट पारे, “अब कांग्रेस जाग्यो, देशको विकास पनि यसैले गर्छ भन्ने भरोसा जनतासम्म पुर्याउनुछ।” कास्की सचिव भानु ढकालले पनि घरघर जाने अभियान चलाइरहेको बताए।
गगनले व्यक्तिमा होइन, प्रणालीमार्फत देशको विकास हुनेमा जोड दिए। उनले पहिलो निर्णय नै शक्तिशाली छानबिन आयोग गठन गर्ने प्रतिबद्धता जनाउँदै “शेरबहादुर देउवा वा आफूबाटै छानबिन थाल्ने” बताए।
यस्तै, उनले निर्वाचनपछिको दुई प्रकारको अतिवादको चिन्ता व्यक्त गर्दै एमाले र केपी ओलीको नेतृत्व र रास्वपा सभापति रवि लामिछाने को अतिवादी कदमको चेतावनी दिए। “जो मौका छोपेर सिंहदरबार जलाउन सक्छ, तर हामी देशलाई प्रयोगशालामा परिणत हुन दिँदैनौँ,” उनले भने।
उपसभापति विश्वप्रकाश शर्मा ले बाँकी समय घरघर पुगेर मतदातासँग संवाद गर्न र उम्मेदवारको रूपमा मत माग्न आह्वान गरे। उनले भने, “भदौ २३ र २४ पछिको चुनौती व्यवस्थापन गर्ने शक्ति र क्षमता कांग्रेससँग मात्र छ।”
