
पोखरा । नेपाल नेत्रज्योति संघ अन्तर्गत सञ्चालित हिमालय आँखा अस्पताल, पोखरा-१७ घारीपाटन ले आइतबार आफ्नो ३३औँ वार्षिकोत्सव मनाएको छ। वि.सं. २०४९ (सन् १९९३) मा स्थापना भएको अस्पतालले हालसम्म झन्डै ४३ लाखभन्दा बढी बिरामीलाई दृष्टि सेवा प्रदान गर्दै जीवनमा उज्यालो छरेको मेडिकल डाइरेक्टर डा. बबिता गुरुङले जानकारी दिइन्। कार्यक्रममा पोखरा महानगरपालिका का मेयर धनराज आचार्यले अस्पतालको भौतिक विकासमा महानगरले सहकार्य गर्ने प्रतिबद्धता जनाउँदै स्वास्थ्य पर्यटनसँग जोड्नुपर्नेमा जोड दिए।
संघका केन्द्रीय अध्यक्ष प्रा. डा. चेतराज पन्तले पूर्वाधार विकासमा सरकारसँग सहकार्य आवश्यक रहेको बताए भने उपाध्यक्ष प्रा. डा. दिलबहादुर क्षेत्रीले पोखरा-१७ का बासिन्दालाई दर्ता शुल्क निःशुल्क गर्ने घोषणा गरे। महासचिव भरतबहादुर चन्दले सेवा विस्तारको आवश्यकता औंल्याए।
उत्कृष्ट कर्मचारी सम्मानित
अस्पतालले उत्कृष्ट कर्मचारीका रूपमा डा. अनिल पराजुली, अनुप सुवेदी, उमा सुनुवार र विकल्प श्रेष्ठलाई सम्मान गर्यो। ‘जनरल ओपिडी भिजन एण्ड रिफ्र्याक्सन युनिट’ उत्कृष्ट विभाग घोषित भयो। दीर्घसेवा प्रदान गर्ने कर्मचारीहरू- गोविन्दनाथ योगी, मञ्जु आचार्य, गोविन्दराज बडु, विजय पौडेल, शशिकला लामिछाने, तेजबहादुर गुरुङ, रीना गुरुङ, धर्मेन्द्रकुमार घोडासैनी, रुपसिंह बोहोरा, दीप गुरुङ, तस्बिरन मियाँ, दीपिका गुरुङ र दीपा शाहीलाई पनि सम्मान गरियो।
अस्पतालका सहकार्य संस्था-आई केयर फाउन्डेसन, कादुरी एग्रिकल्चर एण्ड एसोसिएसन, व्यावसायिक महिला क्लब पोखरा, रोटरी क्लब अफ पोखरा फिस्टेल, मुटु फाउन्डेसन काठमाडौं, युवा बौद्ध संघ पोखरा, कर्मा फ्लाइट्स र रिडले आई फाउन्डेसनलाई प्रशंसा पत्र प्रदान गरियो।
डा. बबिता गुरुङका अनुसार सन् २०२५ मा मात्र २ लाख ४७ हजार ५८५ जना ले सेवा लिएका छन् भने १५ हजार ८४१ जनाको शल्यक्रिया गरिएको छ। अस्पताल व्यवस्थापन समिति अध्यक्ष वरिष्ठ अधिवक्ता सुरेन्द्र थापा मगरका अनुसार ३९ जनाबाट सुरु भएको अस्पतालमा हाल १२५ जना दक्ष नेपाली जनशक्ति कार्यरत छन्। हाल अस्पतालले गण्डकी प्रदेश र कर्णाली प्रदेश मा २७ वटा उपचार केन्द्र र २ वटा सहायक अस्पतालमार्फत सेवा प्रदान गरिरहेको छ।
समारोहमा विभिन्न वक्ताहरूले अस्पतालको शैक्षिक तथा उपचार सेवाको प्रशंसा गरेका थिए भने नेत्र सहायक धर्मेन्द्रकुमार घोडासैनीले कविता प्रस्तुत गरी कार्यक्रमलाई थप आकर्षक बनाएका थिए। तीन दशकको यात्रामा उज्यालो बाँड्दै आएको हिमालय आँखा अस्पतालले आगामी दिनमा अझ व्यापक र गुणस्तरीय सेवा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
