गण्डकीमा प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण, पर्वतमा सबैभन्दा बढी ६१% मतदान

137
0
Share:

पोखरा । गण्डकी प्रदेशका विभिन्न जिल्लामा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। प्रारम्भिक विवरणअनुसार पर्वत, मुस्ताङ, म्याग्दी र लमजुङमा उल्लेखनीय मतदान भएको छ। पर्वत जिल्लामा करिब ६१ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरिएको छ। जिल्ला निर्वाचन अधिकारी बुद्धीराम उपाध्यायका अनुसार मतदान सकिएपछि गरिएको प्रारम्भिक मूल्यांकनअनुसार जिल्लाभर ६३ हजार ३६७ मत खसेको छ। पर्वतमा एक मात्र निर्वाचन क्षेत्र रहेको छ। यहाँ कुल १ लाख २५ हजार ४६६ मतदाता रहेकामा ६२ हजार ८६५ महिला र ६२ हजार ६०० पुरुष रहेका छन्।

त्यस्तै, हिमाली जिल्ला मुस्ताङमा ५६.४७ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। कार्यालय प्रमुख लोकन्द्र ज्ञवालीका अनुसार तोकिएको समयमा सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको हो। मुस्ताङमा प्रत्यक्षतर्फ ६ हजार ३ सय ९७ मत खसेको छ, जसमा ३ हजार २ सय २६ पुरुष, ३ हजार १ सय ७० महिला र १ जना अन्य मतदाता रहेका छन्। मतदान सम्पन्न भएसँगै मतपेटिका मतगणना स्थलमा ल्याउने तयारी गरिएको छ।

यस्तै, सात हजार मतदाता रहेको हिमाली जिल्ला मनाङमा ४० प्रतिशतको हाराहारीमा मत खसेको छ। मनाङको नेस्याङ गाउँपालिकामा एक हजार ६९ मत मात्र खसेको थियो। यो मनाङको उच्च हिमाली क्षेत्र हो। त्यहाँ तीन हजार २१ मतदाता रहेका थिए।

यसैगरी, म्याग्दी जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनमा ५४.२७ प्रतिशत मतदान भएको छ। बिहानदेखि बिना कुनै विवाद स्वच्छ र शान्तिपूर्ण रूपमा सम्पन्न मतदानमा महिला २५ हजार ११८, पुरुष २१ हजार ७७४ र अन्य १ जना गरी कुल ४६ हजार ८९३ मत खसेको छ।

लमजुङ जिल्लामा पनि करिब ५५.८८ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। यहाँ १ लाख ३७ हजार १ सय २४ मतदातामध्ये ७६ हजार ६ सय ३१ मत खसेको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ। सबै जिल्लामा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको र मतपेटिकाहरू मतगणना केन्द्रमा ल्याउने काम भइरहेको निर्वाचन कार्यालयहरूले जनाएका छन्।

दुई वटा निर्वाचन क्षेत्र रहेको नवलपुरमा ५८ प्रतिशत मत खसेको छ। निर्वाचन अधिकारी लालप्रसाद शर्मा भुसालका अनुसार नवलपुरमा ६८ हजार २१ पुरुष, ८७ हजार ९३६ महिला र अन्य दुई जना गरी एक लाख ५५ हजार ९५९ जनाले मतदान गरेका छन्।

बागलुङमा ५२ प्रतिशतको हाराहारी मत खसेको निर्वाचन अधिकृत यज्ञप्रसाद रिजालले बताए। बागलुङको ढोरपाटनसहित दुर्गम क्षेत्रका मतपेटिका संकलन गरेर सदरमुकाम ल्याएपछि मात्र कति मत खस्यो भन्ने जानकारी आउने रिजालको भनाइ छ।

कमेन्ट गर्नुहोस्
Share: