कास्की-२ मा एमालेको गढ भत्कियो, रास्वपाका उत्तम पौडेलको ऐतिहासिक जित निश्चित

Share:

पोखरा । एक समय थियो, देशैभरि पराजित भए पनि कास्की-२ मा भने एमाले अजेयजस्तै मानिन्थ्यो। २०६४ सालको उभारमा रहेको माओवादी लहरलाई समेत यहाँ पराजित गरेको एमालेले यसपटक भने आफ्नो लामो विरासत जोगाउन सकेन।

जारी मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार उत्तमप्रसाद पौडेल फराकिलो मतान्तरसहित विजयी हुने लगभग निश्चित भएको छ। पिएन क्याम्पसका पूर्व स्ववियु सभापति तथा विद्यार्थी राजनीतिबाट उदाएका एमाले उम्मेदवार रश्मि आचार्यलाई उनले ठूलो अन्तरले पछि पारेका हुन्।

हालसम्मको मतपरिणामअनुसार पौडेलले २५ हजार १ सय ३७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका आचार्यले भने ६ हजार ३ सय २० मत मात्रै पाएका छन्। करिब ११ हजार मत गणना हुन बाँकी रहँदा पौडेलले झण्डै १९ हजार मतको अग्रता बनाइसकेकाले अब नतिजा उल्टिने सम्भावना समाप्तजस्तै भएको निर्वाचन अधिकारीहरू बताउँछन्।

यस क्षेत्रमा तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका माधवप्रसाद बाँस्तोला (मधु) ले ४ हजार ६ सय ६९ मत प्राप्त गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका हेमजंग गुरुङ ले १ हजार २ सय ५८ मत पाएका छन् भने नेपाली कम्युनिस्ट पार्टीका हेमबहादुर थापा ‘किरण’ ले १ हजार १ सय ७ मत प्राप्त गरेका छन्।

रास्वपाको उदाउँदो राजनीतिक प्रभाव र एमालेको कमजोर बन्दै गएको संगठनबीच लाभ उठाउने आँकलन गरिएको कांग्रेसले भने यस क्षेत्रमा आफ्नै मतसमेत जोगाउन सकेन।

यसपटक कास्कीमा धेरैले अनुमान नगरेको नतिजा देखिँदैछ। कास्की क्षेत्र नम्बर १ र ३ मा पनि रास्वपाका उम्मेदवारले फराकिलो अग्रता कायम गरेका छन्, जसले जिल्लाको राजनीतिक समीकरण नै बदलिने संकेत देखाएको छ।

कमेन्ट गर्नुहोस्
Share: