बदलिएको कांग्रेसको विजोग

136
0
Share:

अहिलेसम्म सार्वजनिक भएका चुनावी नतिजाले नेपाली कांग्रेसको जनमत उल्लेखनीय रूपमा खस्किएको संकेत दिएका छन्। विशेष महाधिवेशनपछि परिवर्तनको भाष्य निर्माण गर्दै चुनावी मैदानमा उत्रिएको कांग्रेसलाई मतदाताले अपेक्षाअनुसार साथ नदिएको देखिएको छ।

कांग्रेस सभापति गगनकुमार थापा जित सुनिश्चित हुने अनुमानसहित सर्लाही-४ मा केन्द्रित भएका थिए। तर प्रारम्भिक नतिजाले त्यो आँकलन कमजोर देखाएको छ। थापाका नजिकका सहयोगी मानिने दुई महामन्त्री गुरुराज घिमिरे र प्रदीप पौडेलले समेत हार व्यहोरेपछि थापा नेतृत्वमाथि थप दबाब बढेको छ।

यसले विशेष महाधिवेशनमार्फत ‘बदलिएको कांग्रेस’ भन्ने दाबीलाई मतदाताले पूर्ण रूपमा विश्वास नगरेको संकेत गरेको राजनीतिक विश्लेषकहरू बताउँछन्। कांग्रेसभित्र ‘जेनजी विद्रोह’ पछि विशेष महाधिवेशनको माग चर्किएको थियो।

त्यसबेला महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले संयुक्त रूपमा यो मुद्दालाई पार्टीभित्र र बाहिर बलियो बनाएका थिए। उनीहरूले तत्कालीन सभापति शेरबहादुर देउवालाई राजीनामा दिन दबाब मात्र दिएका थिएनन्, देउवाको हस्ताक्षरबाट जारी हुने चुनावी टिकटसमेत स्वीकार नगर्ने अडान लिएका थिए। उनीहरूको तर्क थियो-देउवा नेतृत्वमा कांग्रेसलाई चुनावमा लैजान सम्भव छैन।

तर देउवा पक्षले विशेष महाधिवेशन स्वीकार नगर्दा पार्टीभित्र असन्तुष्टि बढ्दै गयो। एमालेसँगको सम्भावित गठबन्धनका चर्चा र राष्ट्रियसभाको चुनावमा देखिएको समीकरणले कांग्रेसप्रति मतदाताको विश्वास झनै कमजोर बनाएको विश्लेषण गरिन्छ।

अन्ततः २७ पुसमा सम्पन्न विशेष महाधिवेशनबाट गगनकुमार थापा सभापतिमा निर्वाचित भए। देउवा समूहलाई किनारामा पार्दै थापा नेतृत्वको नयाँ टिम बनेपछि कांग्रेस बदलिएको सन्देश दिने प्रयास भयो।

थापाको हस्ताक्षरमा १११ नयाँ अनुहारलाई चुनावी मैदानमा उतारियो। ‘सुधारिएको कांग्रेसले देश सुधार्छ’ भन्ने नारासहित चुनावी अभियान सञ्चालन गरियो। यसले केही समयका लागि कांग्रेस कार्यकर्तामा उत्साह पनि थपेको थियो। तर चुनावी नतिजाले त्यो उत्साहलाई जनमतमा रूपान्तरण गर्न नसकेको देखिएको छ।

कांग्रेसभित्रको पुरानो-नयाँ ध्रुवीकरण चुनावमा पनि स्पष्ट देखिएको बताइन्छ। देउवा समूहको असहयोगले थापा नेतृत्वको अभियान कमजोर भएको आरोप पनि लागिरहेको छ। चुनावको ठीक अघि देउवा विदेश गएका घटनाले पनि पार्टीभित्रको विभाजन झनै उजागर भएको थियो। सुदूरपश्चिमका उम्मेदवारहरूको आग्रह बेवास्ता गर्दै उनी सिंगापुर गएको विषयलाई धेरैले अर्थपूर्ण रूपमा लिएका छन्।

राजनीतिशास्त्री सुचेता प्याकुरेलका अनुसार मतदाताले थापालाई पनि पुरानो नेतृत्वकै हिस्सेदारका रूपमा हेरेका छन्। “विगतका कमजोरीमा थापा पनि कुनै न कुनै रूपमा सहभागी थिए भन्ने धारणा मतदातामा देखिन्छ। त्यसैले परिवर्तनको भाष्य भए पनि जनमत त्यसतर्फ आकर्षित हुन सकेन,” प्याकुरेल भन्छिन्।

यस चुनावमा मुख्य रूपमा कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच ‘नयाँ बनाम पुरानो’ को बहस देखिएको थियो। कांग्रेसले आफूलाई सुधारिएको र नयाँ पार्टीका रूपमा प्रस्तुत गर्ने प्रयास गर्‍यो।

तर मतदाताले त्यो दाबी पूर्ण रूपमा स्वीकार नगरेको प्रारम्भिक नतिजाबाट देखिएको विश्लेषण गरिएको छ। राजनीतिक विश्लेषकहरूका अनुसार अहिलेको परिणामले कांग्रेसभित्रको आन्तरिक एकता, नेतृत्वको विश्वसनीयता र परिवर्तनको विश्वसनीय कथनमाथि गम्भीर प्रश्न उठाएको छ।

कमेन्ट गर्नुहोस्
Share: