असिम शाह भन्छन्- “मन्त्री बन्न दौडधुप नगर्नु, प्रधानमन्त्री भएपछि बालेनले आफैं टिम बनाउनेछन्”

402
0
Share:

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा उल्लेखनीय सफलता हासिल गर्दै सरकार गठनतर्फ उन्मुख राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र मन्त्री पदको चर्चा सुरु भइरहेका बेला पार्टीका केन्द्रीय सदस्य असिम शाह ले नवनिर्वाचित सांसदहरूलाई मन्त्री बन्नका लागि भनसुन, दौडधुप वा मिडिया ट्रायल नगर्न आग्रह गरेका छन्।

रास्वपाको अत्यधिक बहुमतसहित सरकार बन्ने चर्चा चलिरहेका बेला सांसदहरूबीच मन्त्री पदको सम्भावित दौड सुरु भएको संकेत देखिएपछि बालेन निकट मानिने नेता शाहले यस्तो सन्देश दिएका हुन्।

उनले भनेका छन्, “मन्त्री बन्न दौडधुप गर्न, भनसुन गर्न, मिडिया ट्रायल गर्न वा प्रचार गर्न आवश्यक छैन। केही नगरे पनि हुन्छ। जब बालेन्द्र शाह प्रधानमन्त्रीका रूपमा नियुक्त हुनुहुन्छ, उहाँले आफ्नो क्याबिनेटको टिम आफैं छनोट गरेर बनाउनुहुनेछ। उहाँलाई सबै सांसदहरूको योग्यता र क्षमताबारे राम्रो जानकारी छ।”

शाहको भनाइलाई मन्त्री पदका लागि भइरहेको आन्तरिक लबिङ रोक्ने संकेतका रूपमा पनि हेरिएको छ। उनले सांसदहरूलाई पदको दौडभन्दा काम र जिम्मेवारीमा केन्द्रित हुन सुझाएका छन्।

रोचक कुरा के भने, बालेन्द्र शाह र रवि लामिछाने बीच भएको राजनीतिक सहकार्य तथा एकता घोषणा समेत असिम शाहकै घरमा भएको थियो, जहाँ दुवै नेताले लिखित सहमतिमा हस्ताक्षर गरेका थिए। त्यसैले पनि शाहलाई बालेन र रास्वपा नेतृत्वबीचको समन्वयकर्ताका रूपमा हेरिन्छ।

कमेन्ट गर्नुहोस्
Share: