
पोखरा। प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक हुँदै जाँदा गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उल्लेखनीय उदय देखिएको छ। कास्कीका तीनै निर्वाचन क्षेत्रमा विजय हासिल गर्दै रास्वपाले प्रदेशमा बलियो राजनीतिक उपस्थिति स्थापित गरेको छ। कास्की क्षेत्र नम्बर १ बाट खडकराज पौडेल, क्षेत्र नम्बर २ बाट उत्तमप्रसाद पौडेल र क्षेत्र नम्बर ३ बाट विना गुरुङ विजयी भएका छन्। कास्कीका सबै क्षेत्र जितेर रास्वपाले यहाँ ऐतिहासिक सफलता हात पारेको हो।
प्रतिनिधिसभा निर्वाचनअन्तर्गत गोरखा क्षेत्र नम्बर १ मा रास्वपाका सुधन गुरुङ २९ हजार ८९६ मत प्राप्त गर्दै विजयी भएका छन्। उनले नेपाली कांग्रेसका प्रेमकुमार खत्रीलाई १४ हजार ४९८ मतको फराकिलो अन्तरले पराजित गरे। खत्रीले १५ हजार ३९८ मत प्राप्त गरेका छन्। यसै क्षेत्रमा नेकपाका हरिराज अधिकारीले ११ हजार १२४ मत ल्याए भने नेकपा (एमाले) का रामचन्द्र लामिछानेले तीन हजार ७३२ मत प्राप्त गरेका छन्।
गोरखा क्षेत्र नम्बर २ मा पनि रास्वपाको जीत भएको छ। रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी २६ हजार ६६० मतसहित निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडीले ११ हजार ७०० मत ल्याए भने नेकपाका लेखनाथ न्यौपानेले ११ हजार ७३ मत प्राप्त गरे। एमालेका मिलन गुरुङले तीन हजार ८७८ मत ल्याएका छन्।
तनहुँमा पनि रास्वपाले दुवै क्षेत्र जितेको छ। तनहुँ-१ बाट डा. स्वर्णिम वाग्ले र तनहुँ-२ बाट इन्जिनियर श्रीराम न्यौपाने निर्वाचित भएका छन्। म्याग्दीबाट भने स्वतन्त्र उम्मेदवार डा. महाविर पुन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
त्यसैगरी स्याङ्जामा पनि रास्वपाको बलियो उपस्थिति देखिएको छ। स्याङ्जा-१ बाट धनञ्जय रेग्मी तथा स्याङ्जा-२ बाट झविलाल डुम्रे विजयी भएका छन्। लमजुङबाट धर्मराज केसी निर्वाचित भएका छन्।
मनाङबाट नेपाली कांग्रेसका टेकबहादुर गुरुङ तथा मुस्ताङबाट कांग्रेसकै योगेश गौचन थकाली प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। नवलपुरका दुवै क्षेत्रमा पनि रास्वपाले जित निकालेको छ। नवलपुर-१ बाट राजन गौतम र नवलपुर-२ बाट मनिष खनाल विजयी भएका छन्। बागलुङ-१ बाट सुशील खड्का र बागलुङ-२ बाट सोम शर्मा निर्वाचित हुँदै रास्वपाले आफ्नो जितको श्रृंखला कायम राखेको छ। गण्डकी प्रदेशका अधिकांश जिल्लामा देखिएको रास्वपाको यो लहरलाई विश्लेषकहरूले नयाँ राजनीतिक शक्तिको उदयका रूपमा व्याख्या गर्न थालेका छन्।
