
काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीका अनुसार मंगलबार साँझसम्म तीन/चार वटा निर्वाचन क्षेत्रको मतगणना प्रक्रिया मात्रै बाँकी रहेको छ।
मंगलबार राति पौने ८ बजेसम्म १ करोड ५ लाख ८६ हजार ४५४ मत गणना भइसकेको आयोगले जनाएको छ। हालसम्मको गणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) फराकिलो अग्रतासहित पहिलो स्थानमा छ। रास्वपाले ५० लाख ७१ हजार २७४ मत प्राप्त गरेको छ।
त्यस्तै, नेपाली कांग्रेसले १७ लाख २२ हजार १२४ मत पाएको छ भने नेकपा (एमाले) ले १४ लाख ३२ हजार ६ सय मत प्राप्त गरेको छ। नेकपाले ७ लाख ८५ हजार ४६० मत पाएको छ। श्रम संस्कृति पार्टीले ३ लाख ७० हजार ४९१ मत ल्याएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २७ हजार ३५८ मत प्राप्त गरेको छ।
आयोगका अनुसार मतगणनाको गति यही अनुपातमा जारी रहेमा आज मध्यराति वा भोलि बिहानसम्म सबै निर्वाचन क्षेत्रको मतगणना सकिने सम्भावना छ। अन्तिम परिणाम बुधबार बिहान नभए दिउँसोसम्म सार्वजनिक हुने अनुमान गरिएको छ।
जीसीका अनुसार बिहानसम्म १२/१३ निर्वाचन क्षेत्रको मतगणना प्रक्रियामा रहे पनि अहिले तीन/चार वटा मात्रै बाँकी छन्। केही स्थानमा उम्मेदवार वा प्रतिनिधिबीच विवाद तथा सदर–बदर मतको विषयमा असहमति भएमा अन्तिम परिणाम सार्वजनिक हुन केही ढिलाइ हुनसक्ने उनले बताए।
मतगणनाका क्रममा औसतमा ३ देखि ४ प्रतिशतसम्म मत बदर भएको देखिएको आयोगको प्रारम्भिक अध्ययन छ। विगतको निर्वाचनको तथ्यांकलाई हेर्दा यो दर करिब ५ प्रतिशतसम्म पुग्न सक्ने अनुमान गरिएको छ।
समानुपातिकतर्फको मतगणना सकिएपछि आयोगले राजनीतिक दलहरूलाई सिट बाँडफाँड प्रक्रियाका लागि औपचारिक पत्राचार गर्नेछ। त्यसपछि दलहरूले समानुपातिक सांसद चयन प्रक्रिया अघि बढाउनेछन्।
यसअघि प्रतिनिधि सभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फका सबै १६५ निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ। नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १२५ सिट जित्दै पहिलो दल बनेको छ।
त्यस्तै नेपाली कांग्रेसले १८ सिट जितेको छ भने नेकपा (एमाले) ले ९ सिट जितेको छ। नेकपाले ८ सिट जित्दा श्रम संस्कृति पार्टीले ३ सिट हात पारेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले १ सिट जितेको छ भने एक जना स्वतन्त्र उम्मेदवार पनि विजयी भएका छन्। समानुपातिकतर्फ पनि रास्वपाले फराकिलो मतान्तरसहित अग्रता कायम राखेको आयोगले जनाएको छ।
