तीन महिनापछि पोखरा-जोमसोम हवाई सेवा सुरु, मौसमले पहिलो उडान प्रभावित

Share:

पोखरा । हिउँदे यामको प्रतिकूल मौसम र पर्यटकीय अफसिजनका कारण तीन महिनादेखि बन्द रहेको पोखरा-जोमसोम हवाई सेवा पुनः सञ्चालनमा आएको छ। जोमसोम नागरिक उड्डयन कार्यालयका प्रमुख दीपक पोखरेलका अनुसार निजी वायुसेवा कम्पनीहरूले बन्द गरेको सेवा निर्धारित समयभन्दा केही ढिलो गरी पुनः सञ्चालनमा ल्याएका हुन्।

सोमबार तारा एयरलाइन्सको जहाजमार्फत उडान गर्ने तयारी गरिएको थियो भने मंगलबार तारा एयरलाइन्सका दुई र समिट एयरलाइन्सका तीन उडान तालिका तय गरिएको थियो। तर प्रतिकूल मौसमका कारण मंगलबारका सबै उडान रद्द हुन पुगेका छन्। मौसम अनुकूल भएमा पोखरा–जोमसोम हवाई सेवा नियमित रूपमा सञ्चालन हुने प्रमुख पोखरेलले बताए।

यसअघि तारा एयरलाइन्सले डिसेम्बर ४ देखि मार्च १ सम्म पोखरा-जोमसोम उडान सेवा बन्द गर्ने निर्णय गरेको थियो। त्यसैगरी समिट एयरलाइन्सले पनि डिसेम्बर १ देखि फेब्रुअरी १ सम्म सेवा स्थगित गरेको थियो।

तर फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण पर्यटक आगमन प्रभावित भएपछि दुवै कम्पनीले तोकिएको समयभन्दा ढिलो गरी सेवा पुनः सञ्चालन गरेका हुन्। वसन्त ऋतु सुरु भएसँगै मुस्ताङमा पर्यटकीय चहलपहल बढ्ने भएकाले हरेक वर्ष पुस र माघ महिनामा उडान बन्द गरेर फागुनबाट पुनः सञ्चालन गर्ने चलन रहेको छ।

मुक्तिनाथ दर्शनका लागि आउने अधिकांश भारतीय पर्यटक पोखरा–जोमसोम हवाई मार्ग प्रयोग गर्ने गरे पनि सिमानाका बन्द र निर्वाचनका कारण यस वर्ष पर्यटकको आगमन प्रभावित भएको थियो। तारा एयरलाइन्स जोमसोमका स्टेसन इन्चार्ज सुचन लालचनका अनुसार निर्वाचन सकिएपछि हवाई यात्रुको सङ्ख्या बढ्ने अपेक्षा गरिएको छ। हाल यात्रुहरूले धमाधम टिकट बुकिङ गर्न थालेको उनले बताए।

मुस्ताङमा बर्सेनि करिब डेढ लाख विदेशी पर्यटक भित्रिने गरेका छन्, जसमा करिब ७० प्रतिशत भारतीय दर्शनार्थी हुने गरेका छन्। पछिल्लो समय राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडक विस्तारसँगै सडकमार्ग सहज हुँदै गएकाले हवाई यात्रुको सङ्ख्या घट्दै गएको छ। अहिले भारतीय पर्यटकहरू पनि सडकमार्ग हुँदै मुक्तिनाथ दर्शनका लागि आउने क्रम बढेको छ।

एक समय मुस्ताङमा निजी वायुसेवा कम्पनीहरूले दैनिक १८ वटासम्म उडान भर्ने गरेका थिए। तर अहिले दैनिक १० वटाभन्दा बढी उडान हुन सकेको छैन। हाल पोखरा-जोमसोम हवाई मार्गमा तारा एयरलाइन्स र समिट एयरलाइन्सले मात्रै उडान गर्दै आएका छन्। नेपाल वायुसेवा निगमको टिकट बुकिङ कार्यालय जोमसोममा सञ्चालनमा भए पनि लामो समयदेखि निगमको उडान सेवा भने सञ्चालन हुन सकेको छैन।

कमेन्ट गर्नुहोस्
Share: