
पोखरा । नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा अमेरिकास्थित च्यारिटी संस्था ह्युमन रिभोलुसनले आर्थिक सहयोग गरेको छ। ह्युमन रिभोलुसनका संस्थापक जीवन बरालले अक्षयकोषका लागि १५ हजार १३७ रुपैयाँ आर्थिक सहयोग गरेका हुन्। उनले अमेरिकाबाटै सिधै एनपिजेए कास्कीको खातामा उक्त रकम जम्मा गरिदिएको संघले जनाएको छ।
पोखरा निवासी बरालले अमेरिकामा सञ्चालन गरिरहेको ह्युमन रिभोलुसनमार्फत विभिन्न परोपकारी तथा सामाजिक कार्यक्रमहरू गर्दै आएका छन्। आफ्नो संस्था समाजसेवा र मानवीय कार्यमा केन्द्रित रहेकाले फोटो पत्रकारहरूको हितका लागि स्थापना गरिएको अक्षयकोषमा सहयोग गरेको उनले बताए।
सहयोग प्राप्त भएपछि एनपिजेए कास्कीका अध्यक्ष राम गुरुङले ह्युमन रिभोलुसनप्रति आभार व्यक्त गरे। उनले विभिन्न दाताहरूबाट प्राप्त सहयोगले अक्षयकोषको लक्ष्य पूरा गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै कोषबाट फोटो पत्रकारहरूको वृत्तिविकास र पेशागत क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिने जानकारी दिए।
फोटो पत्रकारहरूको हितका लागि स्थापना गरिएको उक्त अक्षयकोषमा समाजसेवी, बुद्धिजीवी तथा विभिन्न संघ-संस्थाहरूबाट सहयोग जुट्ने क्रम जारी रहेको संघले जनाएको छ।
