समानुपातिकमा पनि पहिलो दल बन्यो रास्वपा, कसले कति पाए मत ?

223
0
Share:

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत समानुपातिकतर्फको मतगणना सम्पन्न हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा ठूलो दलका रूपमा उदाएको छ। निर्वाचन आयोगका प्रवक्ता कुलबहादुर जिसीका अनुसार कुल १ करोड ७ लाख ८९ हजार ७८ मत गणना हुँदा रास्वपाले सबैभन्दा धेरै मत प्राप्त गरेको हो। अन्तिम परिणामअनुसार रास्वपाले ५१ लाख ५८ हजार ८१० मत प्राप्त गर्दै कुल मतको करिब ४७.८१ प्रतिशत हिस्सा ओगटेको छ। समानुपातिक मत परिणामले यस पटक नयाँ शक्तिको उदय र परम्परागत दलहरूको प्रभाव कमजोर भएको स्पष्ट संकेत दिएको छ।

मुख्य प्रतिस्पर्धी दलहरूमध्ये नेपाली कांग्रेसले १७ लाख ५६ हजार ४३ मत प्राप्त गर्दै १६.२७ प्रतिशत मत हासिल गरेको छ भने नेकपा एमालेले १४ लाख ५२ हजार ९३९ मतसहित १३.४६ प्रतिशत मत पाएको छ। त्यस्तै नेपाली कम्युनिष्ट पार्टीले ८ लाख ९ हजार ६४१ मत अर्थात् ७.५० प्रतिशत मत प्राप्त गरेको छ। केही महिनाअघि मात्रै स्थापना भएको श्रम संस्कृति पार्टीले ३ लाख ८५ हजार ७४८ मत प्राप्त गर्दै राष्ट्रिय पार्टी बन्न सफल भएको छ, जुन कुल मतको ३.५७ प्रतिशत हो। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ३ लाख ३० हजार २८१ मत अर्थात् ३.०६ प्रतिशत मत प्राप्त गरेको छ। अन्य साना दलहरूले ३ प्रतिशतभन्दा कम मत पाएकाले समानुपातिक सिट पाउने छैनन्।

२०७९ को तुलनामा ठूलो मत परिवर्तन

यस पटकको परिणामलाई २०७९ को आम निर्वाचनसँग तुलना गर्दा राजनीतिक शक्तिको सन्तुलनमा ठूलो परिवर्तन देखिएको छ। २०७९ मा समानुपातिकतर्फ ११ लाख ३० हजार ३४४ मत पाएको रास्वपाले यस पटक ५१ लाख ५८ हजार ८१० मत प्राप्त गर्दै आफ्नो मत ४० लाखभन्दा बढीले बढाएको छ। यसले करिब ३५६.३९ प्रतिशत वृद्धि भएको देखाउँछ।

यसको विपरीत प्रमुख परम्परागत दलहरूको मतमा उल्लेख्य गिरावट आएको छ। २०७९ मा २७ लाख १५ हजार २२५ मत पाएको नेपाली कांग्रेसले यस पटक १७ लाख ५६ हजार ४३ मत मात्रै प्राप्त गरेको छ, जसले कांग्रेसको मतमा ३५.३२ प्रतिशत गिरावट आएको देखाउँछ।

त्यस्तै २०७९ मा सबैभन्दा धेरै मत ल्याएको नेकपा एमालेले यस पटक उल्लेखनीय रूपमा मत गुमाएको छ। अघिल्लो निर्वाचनमा २८ लाख ४५ हजार ६४१ मत पाएको एमालेले अहिले १४ लाख ५२ हजार ९३९ मत मात्रै प्राप्त गरेको छ, जुन करिब ४८.९४ प्रतिशतले कम हो।

यसैगरी नेकपाको मत पनि घटेको छ। २०७९ मा ११ लाख ७५ हजार ६८४ मत पाएको तत्कालीन माओवादी केन्द्रले यस पटक ८ लाख ९ हजार ६४१ मत प्राप्त गरेको छ, जसले करिब ३१.१३ प्रतिशत गिरावट देखाउँछ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को मत पनि अघिल्लो निर्वाचनको तुलनामा घटेको छ। २०७९ मा करिब ५ लाखभन्दा बढी मत पाएको राप्रपाले यस पटक ३ लाख ३० हजार २८१ मत मात्रै प्राप्त गरेको छ।

समानुपातिक मत परिणामले नेपालको राजनीतिक परिदृश्यमा ठूलो परिवर्तनको संकेत दिएको विश्लेषकहरूको भनाइ छ। विशेषगरी रास्वपाको तीव्र मत वृद्धि र परम्परागत दलहरूको मत घट्नुले मतदातामा नयाँ विकल्प खोज्ने प्रवृत्ति बढेको देखाएको छ।

अन्य दलले पाएको मत:

  • जनता समाजवादी पार्टी, नेपाल : १,८१,८५०
  • राष्ट्रिय परिवर्तन पार्टी : १,७२,४९०
  • जनमत पार्टी : ७९,४०३
  • राष्ट्रिय मुक्ति पार्टी नेपाल/जनता समाजवादी पार्टी/नागरिक उन्मुक्ति पार्टी, नेपाल : ६२,०६९
  • नेपाल मजदुर किसान पार्टी : ४२,२९४
  • राष्ट्र निर्माण दल नेपाल : ३९,५५७
  • राष्ट्रिय जनमोर्चा : २९,४५३
  • नेपाल संघीय समाजवादी पार्टी/बहुजन एकता पार्टी नेपाल/नेपाल जनजागृति पार्टी : २९,३९६
  • नेपाल जनता संरक्षण पार्टी : २८,४०८
  • प्रगतिशील लोकतान्त्रिक पार्टी : २४,६७३
  • नेपाल कम्युनिस्ट पार्टी (माओवादी) : २३,८५८
  • मंगोल नेशनल अर्गनाइजेशन : २०,८२९
  • आम जनता पार्टी/जनादेश पार्टी नेपाल : १९,२०९
  • सार्वभौम नागरिक पार्टी: १४,८८१
  • राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल : १०,७२२
  • संयुक्त नागरिक पार्टी : ९,१४२
  • स्वाभिमान पार्टी : ८,१५६
  • राष्ट्रिय जनमुक्ति पार्टी : ७,२१०
  • नेपाल जनता पार्टी : ७,१६३
  • राष्ट्रिय एकता दल : ७,०७१
  • नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी-लेनिनवादी) : ६,१७०
  • राष्ट्रिय गौरव पार्टी : ५,२४८
  • नेशनल रिपब्लिक नेपाल : ५,१६१
  • नेपालका लागि नेपाली पार्टी : ५,०१८
  • गतिशील लोकतान्त्रिक पार्टी : ४,९९३
  • नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल) : ४,८३२
  • संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च : ४,६८०
  • नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) : ४,५१४
  • राष्ट्रिय उर्जाशील पार्टी, नेपाल : ४,३१९
  • समावेशी समाजवादी पार्टी नेपाल : ४,२७९
  • नेपाल लोकतान्त्रिक पार्टी : ४,११९
  • नेपाल मातृभूमि पार्टी : ३,२२८
  • जय मातृभूमि पार्टी : २,९८०
  • राष्ट्रिय जनता पार्टी नेपाल : २,९३३
  • बहुजन शक्ति पार्टी : २,७७२
  • प्रजातान्त्रिक पार्टी नेपाल : २,२४५
  • नेपाल जनमुक्ति पार्टी : २,१७२
  • जन अधिकार पार्टी : २,११६
  • नेपाल सद्‍भावना पार्टी : २,०१८
  • पिपुल फर्ष्ट पार्टी : १,८००
  • नेपाली काँग्रेस (वीपी) : १,७८७
  • नागरिक शक्ति, नेपाल : १,७३२
  • नेपाली जनश्रमदान संस्कृति पार्टी : १,६३८
  • नेपाली जनता दल : १,४५४
  • समावेशी समाजवादी पार्टी : १,३९७
  • जनता लोकतान्त्रिक पार्टी, नेपाल : १,३०३
  • सचेत नेपाली पार्टी/नागरिक सर्वोच्चता पार्टी नेपाल : १,१२९
  • जनप्रिय लोकतान्त्रिक पार्टी : ९५४
  • मितेरी पार्टी नेपाल : ७७२
  • उन्‍नत लोकतन्त्र पार्टी : ७२८
  • त्रिमुल नेपाल :६९४
कमेन्ट गर्नुहोस्
Share: