
पोखरा । नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा तथा पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको सहयोगमा महिला संवाद कार्यक्रम सम्पन्न भएको छ।
“महिला र बालबालिकाको लागि अधिकार, न्याय र कार्यसहितको अवसर” भन्ने मूल नाराका साथ मनाइँदै आएको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा प्रस्तुति दिँदै कोपिला नेपालकी कार्यकारी निर्देशक विना शिलवालले अहिलेको समयमा छोरीहरूलाई केवल संरक्षण मात्र नभई प्रगतिशील मायाको आवश्यकता रहेको बताइन्। महिलालाई समान अधिकार र पहुँच दिलाउन वंशीय तथा अंशीय अधिकारसम्बन्धी बनेका नीति-नियमहरूको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा उनले जोड दिइन्।
कार्यक्रमको उद्घाटन गर्दै मञ्जुदेवी गुरुङले कानुनमै महिलाको अधिकार र सहभागिता सुनिश्चित भइसकेको अवस्थामा अब महिलालाई कानुनी शिक्षा र आर्थिक सशक्तीकरण आवश्यक रहेको बताइन्।
महानगरपालिकाले न्यायमा पहुँच बढाउन महिला-पुरुष समसचेतना कार्यक्रम तथा आर्थिक सशक्तीकरणका लागि “उपप्रमुखसँग महिला कार्यक्रम” सञ्चालन गरिरहेको पनि उनले जानकारी दिइन्।
विमला भण्डारीले विभिन्न क्षेत्रका महिलाको आन्दोलनले नै महिलालाई अधिकार दिलाएको उल्लेख गर्दै आफ्नो आवाज उठाउन नछोड्न आग्रह गरिन्। त्यसैगरी राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश कार्यालयकी प्रमुख नितु गर्तौलाले महिलाहरू शिक्षित र सक्षम बन्दै जाँदा समाजका विभिन्न क्षेत्रमा उनीहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित हुँदै जाने बताइन्।
पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतमले महिलाबीचको एकता र उद्यमशीलताको विकासबाटै महिला अधिकार सुदृढ हुने बताइन्। कार्यक्रममा जमुना वर्षा शर्मा, शोभा पाण्डे, इन्दिरा पौडेल तथा गणेश भण्डारी लगायतले महिला अधिकार र अवसरका विषयमा आफ्नो धारणा व्यक्त गरेका थिए ।
माधव बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य माधव रेग्मीले गरेका थिए भने सञ्चालन महिला उपाध्यक्ष तथा कार्यक्रम संयोजक कञ्चन थापाले गरेकी थिइन् ।
