
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झण्डै दुई तिहाइ सिटसहित सरकार गठनतर्फ अघि बढेपछि सम्भावित प्रधानमन्त्री बालेन शाहको क्याबिनेट कस्तो बन्छ भन्ने विषय अहिले सबैभन्दा चासोको केन्द्र बनेको छ। पार्टीभित्र र बाहिर अहिले अर्थ, गृहसहित महत्वपूर्ण मन्त्रालय कसले सम्हाल्छ र युवा तथा विज्ञलाई कति अवसर मिल्छ भन्नेबारे तीव्र छलफल भइरहेको छ।
रास्वपा स्रोतका अनुसार बालेन शाह अहिले क्याबिनेट संरचना, मन्त्रालय पुनर्संरचना र प्रभावकारी ‘डेलिभरी’ दिन सक्ने टिम निर्माणमा केन्द्रित छन्। यसैक्रममा उनले पार्टी सभापति रवि लामिछानेसँग भएको छलफलमा पार्टी संगठन र संसद्को व्यवस्थापन सभापतिले सम्हाल्ने तथा सरकार सञ्चालनका लागि आफूलाई क्याबिनेट चयनमा स्वतन्त्रता दिनुपर्ने धारणा राखेको बताइएको छ।
अर्थ मन्त्रालयमा स्वर्णिमको बलियो चर्चा
अर्थ मन्त्रालयका लागि सबैभन्दा चर्चामा रहेको नाम हो- स्वर्णिम वाग्ले। पार्टी सभापति लामिछानेले सार्वजनिक कार्यक्रममा नै वाग्लेलाई आगामी बजेट तयार गर्न संकेत गरेपछि उनलाई भावी अर्थमन्त्रीका रूपमा हेरिएको छ। यद्यपि प्युठानबाट निर्वाचित सुशान्त वैदिकको नाम पनि अर्थ मन्त्रालयका लागि चर्चामा छ। लन्डन स्कुल अफ इकोनोमिक्स र नर्वेबाट अर्थशास्त्रमा उच्च अध्ययन गरेका वैदिकलाई बालेनले ‘टेक्नोक्र्याटिक क्षमता भएको अनुहार’का रूपमा हेरेको बताइन्छ। तर अन्ततः वाग्ले नै अगाडि आउने सम्भावना बलियो मानिएको छ।
गृह मन्त्रालयका लागि डोलप्रसाद अर्याल (डीपी अर्याल) र सुनिल लम्सालको नाम चर्चामा छ। अर्यालले यसअघि श्रम मन्त्रालय सम्हालिसकेका छन्। तर श्रम तथा वैदेशिक रोजगार क्षेत्रमा अनुभव भएकाले उनलाई पुनः सोही मन्त्रालयमा राख्ने विकल्प पनि छलफलमा रहेको बताइएको छ। बालेनका विश्वासपात्र मानिएका युवा इन्जिनियर लम्साललाई गृह मन्त्रालय वा भौतिक पूर्वाधार मन्त्रालय दिने सम्भावना पनि चर्चा गरिएको छ।
परराष्ट्रमा शिशिर
रास्वपाको विदेश विभाग प्रमुख शिशिर खनाललाई परराष्ट्र मन्त्रालय दिने विषयमा पार्टीभित्र लगभग सहमति बनेको बताइन्छ। त्यस्तै काठमाडौं-५ बाट निर्वाचित सस्मित पोखरेललाई सूचना तथा सञ्चार मन्त्रालयसहित सरकारको प्रवक्ता बनाउने सम्भावनाबारे पनि छलफल भइरहेको छ।
स्वास्थ्य मन्त्रालयका लागि तोषिमा कार्की र लेखजंग थापाको नाम चर्चामा रहेको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका लागि इन्दिरा राना मगरलाई उपयुक्त मानिएको छ भने कानुन मन्त्रालयका लागि सोविता गौतमको नाम अगाडि आएको छ।
युवा र खेलकुदमा सुदन गुरुङ
युवा आन्दोलनबाट आएका सुदन गुरुङलाई युवा तथा खेलकुद मन्त्रालय दिने सम्भावना रहेको छ। यसअघि सोही मन्त्रालय सम्हालेका विराजभक्त श्रेष्ठलाई भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयतर्फ सार्ने चर्चा छ। काठमाडौँ महानगरमा बालेनसँग काम गरेका केही व्यक्तिहरू पनि सांसद निर्वाचित भएकाले उनीहरूलाई क्याबिनेटमा प्राथमिकता दिने सम्भावना देखिएको छ।
आईटी सल्लाहकार सुदीप ढकाललाई सामान्य प्रशासन वा अन्य मन्त्रालय दिने चर्चा पनि भइरहेको छ। रास्वपाले गैरसांसद विज्ञलाई पनि मन्त्री बनाउने विकल्पबारे छलफल गरेको बताइए पनि संवैधानिक सीमाका कारण तत्काल सम्भव देखिँदैन। ऊर्जा मन्त्रालयका लागि कुलमान घिसिङजस्ता व्यक्तिलाई ल्याउने सम्भावनाबारे पनि अनौपचारिक चर्चा भएको बताइएको छ।
त्यसैगरी श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरानका मेयर हर्क साम्पाङलाई समेत सरकारमा सहभागी हुन प्रस्ताव गर्न सकिने सम्भावना रहेको स्रोतहरूको भनाइ छ। रास्वपाभित्र अहिले विभिन्न नामहरू चर्चामा भए पनि अन्तिम निर्णय सम्भावित प्रधानमन्त्री बालेन शाहको क्याबिनेट गठनसँगै मात्र टुंगो लाग्ने बताइएको छ। नेता-कार्यकर्ताका अनुसार बालेनले विज्ञता, युवा ऊर्जा र नयाँ राजनीतिक शैलीलाई समेट्ने क्याबिनेट बनाउने प्रयास गरिरहेका छन्।
