आधा ग्यास सिलिण्डरको निर्णय फिर्ता लिन ग्यास बिक्रेताको माग

Share:

पोखरा। खाना पकाउने एलपी ग्यास आधामात्र भरिएको सिलिण्डर बजारमा पठाउने निर्णय फिर्ता लिन एलपी ग्यास बिक्रेता संघ कास्की ले सरकारसँग माग गरेको छ। संघले नेपाल आयल निगम ले ७.१ किलोग्राम अर्थात् साविकमा उपलब्ध १४.२ किलोग्राम सिलिण्डरको आधामात्र ग्यास बिक्री गर्ने निर्णय अव्यवहारिक भएको भन्दै तत्काल सच्याउन आग्रह गरेको हो। संघका अध्यक्ष नारायणदत्त दाहाल ले शुक्रबार जारी गरेको विज्ञप्तिमा उक्त निर्णय उद्योगी, वितरक र उपभोक्ता सबैको हितविपरीत भएको उल्लेख गरिएको छ।

विज्ञप्तिमा आधा भरिएको सिलिण्डर बजारमा पठाउँदा ग्यास आपूर्ति प्रणाली नै प्रभावित हुने र कास्की बाहिर रहेका उद्योगहरूले ग्यास आपूर्ति नगर्ने सम्भावना बढ्ने चेतावनी दिइएको छ। कास्कीमा ग्यास उत्पादन गर्ने केवल दुई कम्पनी मात्र भएकाले उनीहरूको उत्पादनले मात्र बजारको माग धान्न नसक्ने संघको भनाइ छ।

संघका अनुसार सिलिण्डर आधा भरिएको होस् वा पूरा १४.२ किलोग्राम नै किन नहोस्, ढुवानी तथा लोड-अनलोडमा लाग्ने खर्च उस्तै हुने भएकाले आधा भरिएको ग्यास पठाउँदा कम्पनीको उत्पादन लागत बढ्छ। यसले टाढाका जिल्लामा ग्यास आपूर्ति गर्दा उद्योगीहरूलाई थप घाटा व्यहोर्नुपर्ने अवस्था आउने बताइएको छ।

“लागत अत्यधिक बढ्दा कास्की बाहिर रहेका करिब २० वटा कम्पनीहरूले ग्यास आपूर्ति नगरे समस्या झनै चर्किन सक्छ,” विज्ञप्तिमा उल्लेख गरिएको छ। संघले सरकारसँग आधा भरिएको सिलिण्डर बजारमा पठाउने निर्णय तत्काल सच्याउँदै पूर्ण तौलको ग्यास सिलिण्डर नै उपलब्ध गराउन, आपूर्ति प्रणालीलाई चुस्त बनाउन तथा इन्धन संकटका बेला वैकल्पिक माध्यमबाट थप इन्धन आयातको पहल गर्न आग्रह गरेको छ।

साथै नेपालमा इन्धन संकट पहिलोपटक नभएको स्मरण गराउँदै भण्डारण क्षमता वृद्धि गर्न सरकारको ध्यानाकर्षण गराइएको छ। संघले उपभोक्तालाई अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न आग्रह गर्दै व्यवसायीहरूलाई अनावश्यक दबाब र मानहानी हुने गतिविधि नगर्न तथा आवश्यक सुरक्षा व्यवस्था गर्न स्थानीय प्रशासनसँग पनि अनुरोध गरेको छ।

कमेन्ट गर्नुहोस्
Share: