३५ वर्ष विद्यालयको नेतृत्व गरेका प्रअ पौडेलको विदाई

Share:

पोखरा । एउटै विद्यालयमा करिब ३५ वर्ष बिताएका महेन्द्र माध्यमिक विद्यालय, घार्मीका प्रधानाध्यापक बासुदेव पौडेलको सम्मानसहित विदाई गरिएको छ। पौडेलको शुरुको नियुक्ती नै सोही विद्यालयमा भएको निमित्त प्रधानाध्यापक नन्दराज दाहालले जानकारी दिए । उमेर हदका कारण अनिवार्य अवकाश पाएका पौडेलको विद्यालयमा आयोजित एक कार्यक्रमका बीच विदाई गरिएको हो।

विसं २०४८ साल साउनमा अंग्रेजी शिक्षकका रूपमा प्रवेश गरेका पौडेल सोही वर्ष विद्यालयको प्रधानाध्यापकमा नियुक्त भई निरन्तर रूपमा ३५ वर्ष विद्यालयको शैक्षिक तथा भौतिक विकासमा लागेका थिए।

लामो समय विद्यालयको शैक्षिक तथा प्रशासनिक नेतृत्व समालेका पौडेललाई विद्यालयसहित विद्यार्थीहरुले विदाई गर्दै उनको योगदानको स्मरण गरे । प्रअ पौडेललाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बैकुण्ठ पौडेल, विद्यालयका संस्थापक अध्यक्ष महेश्वर पौडेल, शिक्षक अभिभावक संघका पुर्व अध्यक्ष होमनाथ आचार्य, निमित्त प्रधानाध्यापक नन्दराज दाहालले सम्मानपत्र र दोशल्लाले सम्मान गरे ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पौडेलले विद्यालय स्थापना र शैक्षिक गुणस्तर वृद्धीमा उनको भुमिका महत्वपुर्ण रहेको बताए । उनले विद्यालयका लागि उहाँको मार्गदर्शन सधैं आवश्यक रहने बताए ।संस्थापक अध्यक्ष महेश्वर पौडेलले विद्यालय स्थापनकालिन समयको स्मरण गर्दै प्रअ पौडेलको कार्यकुशलताले नै विद्यालय यस स्थानमा आईपुगेको बताए ।

निमित्त प्रधानाध्यापक दाहालले उनकै कार्यकालमा विद्यालयले शैक्षिक र भौतिक विकासमा फड्को मारेको बताउँदै, आगामी दिनमा निरन्तर सुझाव र सल्लाह दिन आग्रह गरे । सम्मानित प्रअ बासुदेव पौडेलले विद्यालय र विद्यार्थीको सम्मानले आफुलाई थप जिम्मेवार बनाएको बताउँदै, आफु विद्यालयमा नरहे पनि यहाँको समग्र विकासमा निरन्तर लाग्ने र बाँकी काम पुरा गरेरै छाड्ने प्रतिबद्धता जनाए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बैकुण्ठ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक अभिभावक संघका पुर्व अध्यक्ष होमनाथ आचार्य, शिक्षासेवी एवं पौडेलका दाजु कृष्णप्रसाद पौडेल, शिक्षक रत्ना विश्वकर्मा,समाजसेवी रमेश विश्वकर्मा विद्यार्थी हिमानी पौडेललगायतले अवकासपछिको जीवन पनि शैक्षिक र समाज सुधारको क्षेत्रमा लाग्न सुझाव दिए ।

सो अवसरमा शिक्षक विद्यार्थी र अभिभावकले पौडेल र उनकी जीवनसंगीनी सोही विद्यालयकी शिक्षक कमला घिमिरेलाई फुल माला र मायाको चिनोसहित सम्मान गरेका थिए । प्रअ पौडेल कै कार्यकालमा विद्यालयले तत्कालिन प्रवेशिका परीक्षमा जिल्लाकै उत्कृष्ट विद्यालयको रुपमा सम्मानित समेत भएको थियो भने शैक्षिक विकास र भौतिक निर्माणमा ठुलो उपलब्धि हासिल गरेको छ । यसैबिच सोही विद्यालयका कक्षा ९ का विद्यार्थीले एस ई ईको तयारी गरिरहेका विद्यार्थीलाई पनि परीक्षा सफलताको शुभकामनासहित विदाई गरेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: