पेट्रोलियम पदार्थको मूल्य वृद्धि, पेट्रोल र डिजेलको भाउ बढ्यो

Share:

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य लगातार बढ्दै गएपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको जनाएको छ। निगमले जारी गरेको प्रेस विज्ञप्तिअनुसार नयाँ मूल्य २०८२ चैत २ गते
भोली बिहान १२:०१ बजेदेखि लागू हुने भएको छ।

निगमका अनुसार पछिल्लो समय मध्यपूर्व र पश्चिम एसियामा देखिएको युद्धको प्रभावका कारण विश्व बजारमै पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्य उच्चदरले बढिरहेको छ। यसले आपूर्ति प्रणालीमा समेत समस्या सिर्जना गरेको बताइएको छ।

निगमले भारतको इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ र डिजेल/मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरी नयाँ मूल्य कायम गरिएको जनाएको छ।

नयाँ समायोजनअनुसार तेस्रो वर्ग (काठमाडौं, पोखरा, दिपायल) मा पेट्रोल प्रतिलिटर १७२ रुपैयाँ र डिजेल/मट्टितेल प्रतिलिटर १५२ रुपैयाँ कायम भएको छ।

निगमका अनुसार अन्तर्राष्ट्रिय बजारको वास्तविक मूल्यअनुसार समायोजन नगरेमा भारतलाई भुक्तानी गर्नुपर्ने बक्यौता बढ्ने र आपूर्ति प्रणाली नै प्रभावित हुन सक्ने अवस्था रहेको छ। विगतमा पनि मूल्य वृद्धि समायोजन गर्न नसक्दा निगमले ठूलो आर्थिक दायित्व व्यहोर्नुपरेको उल्लेख गरिएको छ।

निगमले सार्वजनिक सवारीसाधन तथा ढुवानी क्षेत्रमा असर कम पार्न डिजेलको मूल्य वृद्धि अपेक्षाकृत कम राख्ने रणनीति अपनाइएको जनाएको छ। साथै अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्नेबित्तिकै स्वदेशमा पनि मूल्य घटाइने प्रतिबद्धता व्यक्त गरिएको छ।

मूल्य वृद्धि पश्चात पनि निगमलाई करिब ३ अर्ब ९३ करोड रुपैयाँ घाटा हुने प्रक्षेपण गरिएको निगमले जनाएको छ। निगमले वर्तमान कठिन परिस्थितिमा उपभोक्ता तथा सरोकारवालासँग सहयोगको अपेक्षा समेत गरेको छ।

कमेन्ट गर्नुहोस्
Share: