
पोखरा । फेवाताल संरक्षणका लागि पोखरा महानगरपालिकासँगको समन्वयमा सञ्चालन हुँदै आएको सरसफाइ महाअभियानअन्तर्गत मङ्गलवार खपौँदी क्षेत्रमा व्यापक सरसफाइ गरिएको छ।
ताल संरक्षण अभियानको नियमित मासिक कार्यक्रमअन्तर्गत प्याराग्लाइडिङ ल्यान्डिङ क्षेत्र वरपर सरसफाइ गरिएको हो। कार्यक्रममा पोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्य स्वयं उपस्थित भई अभियानलाई साथ दिएका थिए।
सरसफाइ कार्यक्रममा जलारी समूह, नेपाल हवाई खेलकुद संस्था, प्याराग्लाइडिङ पाइलट क्लब, कर्म फ्लाइट्स, राइजिङ स्टार यूथ क्लब रिठ्ठेपानी, महिला सञ्जाल वैदाम, पश्चिमी बाहिरी पर्यटन उद्यमी मञ्च, महानगर प्रहरी तथा सरसफाइ शाखा लगायत विभिन्न संघसंस्थाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
स्थानीय सरोकारवालाहरूको सक्रिय सहभागिताले फेवाताल संरक्षणप्रति जनचेतना बढाउँदै लगेको र वातावरण जोगाउने अभियानलाई थप बल पुगेको आयोजकले बताएका छन्।
