समानुपातिक सांसदले आज प्रमाणपत्र पाउँदै, लगत्तै शीतलनिवासमा चुनावी प्रतिवेदन पुग्ने

169
0
Share:

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका उम्मेदवारलाई आज प्रमाणपत्र वितरण गर्दै छ । समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचन अधिकृत कृष्णबहादुर राउतका अनुसार आज बिहान ११ः३० बजे आयोग परिसरमा निर्वाचित भएको प्रमाणपत्र वितरण गरिनेछ ।

आयोगले समानुपातिकतर्फका १ सय १० जनालाई विजयी घोषणा गरिसकेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले ५७, नेपाली कांग्रेसले २०, नेपाल कम्युनिस्ट पार्टी(एमाले)ले १६, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले नौ, श्रम संस्कृति पार्टीले चार र राष्ट्रिय प्रजातन्त्र पार्टीले चार सिट पाएका छन् ।

कुल २७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत १६५ र समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना निर्वाचित हुने व्यवस्था छ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारलाई प्रमाणपत्र वितरण गरेपछि यसपटकको निर्वाचन प्रक्रियाले पूर्णता पाउनेछ ।

निर्वाचन आयोगले प्रतिनिधिसभा चुनावको अन्तिम परिणामसहितको प्रतिवेदन पनि आजै राष्ट्रपतिसमक्ष बुझाउने तयारी गरेको छ । समानुपातिकतर्फका नवनिर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण गरेलगत्तै आयोगको टोली शीतलनिवास जाने तयारी छ । योसँगै नयाँ सरकार गठनको मार्ग खुल्नेछ ।

कमेन्ट गर्नुहोस्
Share: