पोखराको फोहोर संकट समाधानतर्फ, महानगर भन्छ- ‘अब शहर फेरि सफा बन्छ’

Share:

पोखरा। पोखरा महानगरपालिका का मेयर धनराज आचार्यले पछिल्लो समय देखिएको फोहोरमैला व्यवस्थापन समस्या समाधानतर्फ उन्मुख भएको बताएका छन्। अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन र हालैका आन्दोलनका कारण असहजता उत्पन्न भए पनि महानगरले अल्पकालीन र दीर्घकालीन दुवै योजना अघि बढाएको उनले स्पष्ट पारे। लामो समयसम्म फोहोर नउठ्दा आलोचना खेप्नुपरेको स्वीकार गर्दै मेयर आचार्यले अस्थायी विसर्जन केन्द्र अपेक्षाभन्दा छिटो भरिनु नै मुख्य कारण रहेको बताए। विशेषगरी ‘जेनजी मुभमेण्ट’ अन्तर्गतका आन्दोलनका कारण ठूलो मात्रामा फोहोर थपिँदा व्यवस्थापन चुनौतीपूर्ण बनेको उनको भनाइ छ।

उनका अनुसार चुनावको समयमा नयाँ स्थान खोज्न कठिन भए पनि गत ३० गतेदेखि नयाँ अस्थायी विसर्जन केन्द्र सञ्चालनमा ल्याएर फोहोर उठाउन थालिएको छ। “अब केही समयमै पोखरा पुनः पुरानै अवस्थामा सफा हुनेछ,” उनले विश्वास व्यक्त गरे। मेयर आचार्यले आन्दोलनका क्रममा ११८ सरकारी भवन र निजी क्षेत्रका सयौँ सवारी साधनमा भएको क्षतिले समेत अतिरिक्त फोहोर सिर्जना गरेको बताए, जसले विसर्जन केन्द्र छिटो भरिन पुग्यो।

दीर्घकालीन समाधानका लागि महानगरले ‘फोहोरबाट मोहोर’ अवधारणाअन्तर्गत महत्वाकांक्षी योजना अघि बढाएको छ। दैनिक करिब २२५ टन फोहोर उत्पादन हुने पोखरामा यसबाट साढे ७ मेगावाट बराबर ऊर्जा उत्पादन गर्ने लक्ष्य राखिएको छ।

युरोपेली प्रविधिमा आधारित यस परियोजनाबाट एलपीजी (सुरुमा सीएनजी), कम्पोस्ट मल र निर्माण सामग्री उत्पादन गरिनेछ। यसका लागि अष्ट्रेलियास्थित गैरआवासीय नेपाली (एनआरएन) टोलीलाई ठेक्का दिइसकिएको महानगरले जनाएको छ।

“६ देखि ८ महिनाभित्र मेसिन जडान गरी एक वर्षभित्र नमूना फोहोर प्रशोधन केन्द्र सञ्चालनमा ल्याइनेछ, जुन अवलोकनयोग्यसमेत हुनेछ,” मेयर आचार्यले दाबी गरे।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चराको जोखिम न्यूनीकरण गर्न पुरानो सेनेटरी ल्याण्डफिल साइट बन्द गर्नुपरेको थियो। एशियाली विकास बैंक को सहयोगमा करिब १९ वर्षअघि निर्माण गरिएको उक्त साइट सन् २०२३ जनवरी १ देखि प्रयोगमा छैन। त्यसपछि वडा नं. ३२ को लामेआहाल क्षेत्रमा अस्थायी व्यवस्थापन हुँदै आएको थियो।

मेयर आचार्यले फोहोर व्यवस्थापन जस्तो संवेदनशील विषयमा राजनीति नगर्न आग्रह गर्दै नागरिकको भूमिकासमेत महत्वपूर्ण हुने बताए। “आफ्नो घरअगाडि सफा चाहने तर आफ्नै वडामा फोहोर नस्वीकार्ने प्रवृत्ति अन्त्य हुनुपर्छ,” उनले भने।

हाल प्रयोग भइरहेको नयाँ विसर्जन स्थलमा मानव स्वास्थ्य र वातावरणमा असर नपर्ने गरी प्राविधिक व्यवस्थापन गरिएको उनले दाबी गरे। साथै, पोखरालाई देशकै सबैभन्दा सफा शहर बनाइराख्न महानगरका सयौँ कर्मचारी निरन्तर खटिरहेको उल्लेख गर्दै उनले पोखरेलीहरूको स्वस्फूर्त सरसफाइ संस्कृतिको प्रशंसा पनि गरे।

कमेन्ट गर्नुहोस्
Share: