
पोखरा । नेपाललाई विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा चिनाउने उद्देश्यसहित “विश्वको उत्कृष्ट गन्तव्य नेपाल” अभियान औपचारिक रूपमा सुरु गरिएको छ। कास्कीस्थित मनोक्रान्ति स्थलमा आयोजित एक समारोहबीच उक्त अभियानका लागि तयार गरिएको विशेष सवारीको अनावरण गरिएको हो।
कार्यक्रममा मनोक्रान्तिका प्रणेता डा. योगी विकाशानन्दले सवारीको अनावरण गर्दै अभियानले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ पहिचान दिलाउने विश्वास व्यक्त गरे।
यस अभियानको नेतृत्व कलाकार प्रज्ञा नगेन सिंह ठकुरीले गर्नुभएको छ, जसले विगत १५ वर्षदेखि देशका विभिन्न भूभागमा पुगेर धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदालाई क्यानभासमा उतार्दै आएका छन्। अब उनले ७७ वटै जिल्लामा प्रत्यक्ष कला यात्रा गर्दै अभियानलाई अझ व्यापक बनाउने लक्ष्य राखेका छन्।
अभियानअन्तर्गत ‘नेपाल कला यात्रा’ नामक पुस्तक पनि देशका सबै जिल्लामा पुर्याइनेछ। साथै, उक्त अभियानलाई गिनीज वर्ल्ड रेकर्ड्समा दर्ता गराउने तयारीसमेत भइरहेको आयोजकले जनाएको छ।
जनसहभागिता अभिवृद्धि गर्न ५ लाख नेपालीबाट जनही १०० रुपैयाँ संकलन गरी ‘जनप्रकाशक’ बनाउने योजना अघि सारिएको छ। यसबाट कला र पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थपिने अपेक्षा गरिएको छ।
कार्यक्रमकै अवसरमा ३५ जनाले तत्काल सहयोग गर्दै ‘प्रकाशक’का रूपमा आफ्नो नाम दर्ता गराएका थिए भने सात वटा पुस्तक बिक्रीसमेत भएको छ। पुस्तक बिक्रीबाट उठेको रकमलाई विश्वका १९६ देशका भाषामा प्रकाशन विस्तार गर्ने लक्ष्य राखिएको अभियान संयोजक नकुल सिंह ठकुरीले जानकारी दिए।
