पराजयपछि कांग्रेसको आत्मस्वीकार: ‘हामी बदलिन सकेनौं’, सभापति थापाको राजीनामा अस्वीकृत

174
0
Share:

काठमाडौं। नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचन २०८२ को अप्रत्याशित परिणामपछि पराजयको प्रारम्भिक समीक्षा सार्वजनिक गर्दै हारको जिम्मेवारी समग्र पार्टीले लिनुपर्ने निष्कर्ष निकालेको छ। पार्टीले आफ्नो असफलतालाई स्पष्ट रूपमा स्वीकार्दै अब रूपान्तरणको बाटो रोज्नुपर्ने संकेत दिएको छ।

उपसभापति विश्वप्रकाश शर्माद्वारा सार्वजनिक प्रतिवेदनमा परिणामलाई “उच्च लोकतान्त्रिक संस्कृतिअनुरूप आत्मसात” गर्ने उल्लेख गर्दै सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत गरिएको जानकारी दिइएको छ। केन्द्रीय समितिले अहिले नेतृत्व परिवर्तनभन्दा संगठन सुदृढीकरणलाई प्राथमिकता दिएको छ।

प्रतिवेदनले फागुन २१ मा सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको जितभन्दा कांग्रेसको पराजय नै प्रमुख विषय भएको उल्लेख गरेको छ। “हामीले आफूलाई समयमै सम्हाल्न, बदल्न र मतदातासम्म सन्देश पुर्‍याउन सकेनौं,” प्रतिवेदनको आत्मालोचनात्मक स्वीकारोक्ति छ।

०४६ पछिका आठ आमनिर्वाचनको प्रवृत्ति विश्लेषण गर्दै कांग्रेसले पहिलो र दोस्रो स्थानमा आलोपालो हुनु संयोग नभई गहिरो संरचनात्मक समस्या भएको निष्कर्ष निकालेको छ। प्रतिवेदनमा देशको दीर्घकालीन राजनीतिक अस्थिरता, नेतृत्वमा दोहोरिने अनुहार, कमजोर नीतिगत कार्यान्वयन र गठबन्धन राजनीतिप्रति बढ्दो वितृष्णालाई हारका मुख्य कारणका रूपमा औंल्याइएको छ। पछिल्लो ३४ वर्षमा २५ पटक सरकार परिवर्तन भएको तथ्य प्रस्तुत गर्दै मतदातामा ‘स्थिर सरकारको खोजी’ तीव्र बनेको उल्लेख गरिएको छ।

साथै, सामाजिक सञ्जाल र एल्गोरिदमको प्रभाव, लोकप्रियतावादको लहर, तथा नागरिकमा बढ्दो निराशा र असन्तुष्टिलाई पनि परिणामसँग जोडिएको छ। पार्टीले भ्रष्टाचार नियन्त्रणमा अपेक्षित सफलता हासिल गर्न नसक्नु, सार्वजनिक सेवा प्रवाहमा ढिलासुस्ती र “काम गर्ने तर प्रचार गर्न नसक्ने” पुरानो छवि परिवर्तन गर्न नसक्नु पनि कमजोरीका रूपमा स्वीकार गरेको छ।

गुटबन्दी, अत्यधिक राजनीतिकरण र ‘मेरिटोक्रेसी’ कमजोर हुनुका कारण पार्टीप्रति नागरिकको विश्वास घटेको निष्कर्ष पनि प्रतिवेदनमा उल्लेख छ। उम्मेदवार चयनपछि केही नेताबाट भएको ‘साइलेन्स किलिङ’ र ‘स्याबोटेज’ ले परिणाममा असर पारेको आरोपसमेत लगाइएको छ।

त्यस्तै, २०७९ को स्थानीय तह निर्वाचनदेखि देखिएको स्वतन्त्र उम्मेदवारको उदय र नयाँ दलको प्रवेशलाई परम्परागत दलप्रति बढ्दो अविश्वासको संकेतका रूपमा व्याख्या गरिएको छ, जसलाई कतिपयले ‘जेनजी विद्रोह’ का रूपमा लिएका छन्। सभापति थापाले दिएको राजीनामालाई “अवधि छोटो” र “परिस्थिति सम्हाल्ने दायित्व प्राथमिक” भन्दै अस्वीकृत गरिएको छ।

दोस्रो दलमा खुम्चिए पनि कांग्रेसले प्रतिनिधिसभामा जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ, “राम्रा काममा साथ, खराबीमा खरो विमति” को नीति अघि सार्दै लोकतान्त्रिक प्रणाली सुदृढीकरणमा योगदान दिने जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: