पूर्वबाट पोखरासम्म पर्यटनको हुंकार: ‘जाउँ है पोखरा’ अभियान सुरु

Share:

पोखरा । आन्तरिक पर्यटन प्रवर्द्धनलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यसहित चर्चित ‘जाउँ है पोखरा’ अभियान यस वर्ष पूर्वी नेपालका विभिन्न शहरबाट सुरु हुने भएको छ। चैत ९ देखि १३ गतेसम्म सञ्चालन हुने अभियानले वीरगंज, विराटनगर, पशुपतिनगर र हेटौंडामा पर्यटनको माहोल तताउने तयारी गरेको छ।

होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार अभियानमा पोखराका होटलकर्मी, पर्यटन व्यवसायी र सञ्चारकर्मीको सक्रिय सहभागिता रहनेछ। कार्यक्रमअन्तर्गत पत्रकार सम्मेलन, अन्तरक्रिया, प्रचार सामग्री वितरण र विशेष पर्यटन प्याकेज सार्वजनिक गरिनेछ। साथै, पोखरामा आयोजना हुने २१ औं फेवा नववर्ष महोत्सवमा सहभागी हुन पूर्वी नेपालका बासिन्दालाई विशेष निमन्त्रणा दिइनेछ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको सहकार्यमा सञ्चालन हुने अभियानलाई पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारले समेत सहयोग गरेका छन्। प्रदेश प्रमुख मणिराज लामिछानेले पोखरालाई ‘पर्यटनको राजधानी’का रूपमा थप मजबुत बनाउन यस्ता अभियानले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

पोखरा पुग्न अब झन् सहज भएको छ। नव निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले आन्तरिक तथा बाह्य पर्यटकलाई सहज पहुँच प्रदान गरेको छ। साथै, भद्रपुर र विराटनगरदेखि पोखरासम्म सिधा हवाई सेवा पुनः सञ्चालन गर्ने र स्तरीय पर्यटक बस सेवा विस्तार गर्ने योजना पनि अघि सारिएको छ।

२२ वर्षअघि सुरु भएको ‘जाउँ है पोखरा’ अभियानले निरन्तरता पाउँदै आएको छ र यसको प्रभाव सकारात्मक देखिँदै आएको छ। आन्तरिक पर्यटनलाई दिगो पर्यटनको आधार मान्दै अभियानले पूर्व र पश्चिमबीच पर्यटन तथा व्यवसायिक सम्बन्धलाई अझ मजबुत बनाउने लक्ष्य लिएको छ।

पोखराको होटल क्षेत्रमा मात्र पाँच खर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको छ। यहाँ करिब १,२०० होटलमा ४० हजार शय्या उपलब्ध छन् भने १५ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन्। संस्कृति, पर्यटन र खानालाई एउटै मञ्चमा ल्याउने उद्देश्यसहित चैत २९ देखि वैशाख १ गतेसम्म फेवा ताल किनार लेकसाइडमा २१ औं फेवा नववर्ष महोत्सव आयोजना हुँदैछ। यस महोत्सवले पोखरालाई अझ जीवन्त बनाउँदै देशभरिका पर्यटकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: