
पोखरा । एनआईएमबी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पोखराका बहिरा विद्यार्थीलाई पोशाक सहयोग गरेको छ। पोखरा महानगरपालिका वडा नं. २६स्थित सिर्जना बहिरा आवासीय माध्यमिक विद्यालयका १८१ जना विद्यार्थीलाई आइतबार ट्र्याकसुट वितरण गरिएको हो। बैंकको लेखनाथ शाखामार्फत गरिएको यस सहयोगले विशेष आवश्यकता भएका बालबालिकालाई प्रत्यक्ष राहत पुर्याएको छ।
पोशाक हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष नरेन्द्र थापाले वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्व अन्तर्गत कम अवसर प्राप्त नागरिकलाई सहयोग गर्नुपर्नेमा जोड दिए। उनले स्थानीय तह र बैंकबीच सीसी क्यामेरा, सडक बत्ती तथा डिजिटल बैंकिङ जस्ता क्षेत्रमा सहकार्य गर्न सकिने प्रतिबद्धता पनि व्यक्त गरे।
कार्यक्रममा बैंकका शाखा प्रमुख प्रकाश सिग्देलले शिक्षाको क्षेत्रमा योगदान गर्ने उद्देश्यले विद्यार्थीलाई पोशाक प्रदान गरिएको बताए। विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष प्रकाशलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य तीर्थबहादुर राजभाट, निमित्त प्रधानाध्यापक राजेन्द्र शर्मा लगायतले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन शिक्षक नवराज अधिकारीले गरेका थिए।

