
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो संसदीय यात्रा र सरकार निर्माणको प्रक्रियामा ठूलो हेरफेर गरेको छ। बिहीबार वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गरेको छ।
सभापति रवि लामिछानेले नै शाहलाई दलको नेता बनाउन प्रस्ताव गरेका थिए, जसलाई बैठकले सर्वसम्मत अनुमोदन गर्यो। स्मरणीय छ, नवनियुक्त दलका नेता शाहले शुक्रबार नै प्रधानमन्त्रीको रूपमा शपथ लिने तयारी छ।
बैठकमा सभापति लामिछानेले मन्त्री र सभामुख छनोटको विषयमा सांसद र केन्द्रीय सदस्यहरूलाई सम्बोधन गर्दै मन्त्री पदका लागि कुनै पनि प्रकारको ‘लबिइङ’ नगर्न निर्देशन दिएका छन्। उनले योग्य र विज्ञ व्यक्तिहरूलाई मात्र सरकारमा पठाइने स्पष्ट पारे।
“नेतृत्वलाई विश्वास गरेर मन्त्री र सभामुख छान्ने जिम्मा दिनुहोस्। हामी विज्ञता हेरेर मात्र व्यक्ति छनोट गर्छौँ। यसमा कसैले पनि व्यक्तिगत दबाब वा लबिइङ नगर्नुहोला,” लामिछानेले भने ।
रास्वपाले एकै चरणमा मन्त्रिपरिषद्लाई पूर्णता दिने योजना बनाए पनि मन्त्री छनोटमा मापदण्ड र कसिकसाइ बढाइएका कारण पहिलो चरणमा केही मन्त्रीहरूले मात्र शपथ लिने भएका छन्।
मन्त्रालयको जिम्मेवारी र व्यक्तिको नाम अझै टुंगो लाग्न बाँकी छ। सभापति लामिछाने, दलका नेता शाह, उपसभापतिद्वय डोलप्रसाद अर्याल र स्वर्णिम वाग्ले बिच गहन छलफल जारी छ। शुक्रबार बिहानसम्म मन्त्रीहरूको प्रारम्भिक सूची तयार पार्ने लक्ष्य छ।
बैठकमा सभापति लामिछानेको दायाँतर्फ नवनियुक्त दलका नेता बालेन शाह, उपसभापतिद्वय डोलप्रसाद अर्याल र स्वर्णिम वाग्ले देखिएका थिए भने बायाँतर्फ महामन्त्री कबिन्द्र बुर्लाकोटी लगायतका पदाधिकारीहरूको उपस्थिति थियो।
प्रवक्ता मनिष झाका अनुसार पार्टीभित्र ‘विज्ञता’ लाई नै मन्त्री छनोटको मुख्य आधार बनाइनेछ। आज रातभरमा मन्त्रीहरूको नाम टुंगो लगाएर भोलि प्रधानमन्त्रीसँगै शपथ गराउने रास्वपाको तयारी छ।
