
पोखरा । नेपालको प्रमुख पर्यटन गन्तव्य पोखराले औद्योगिक नगरी विराटनगर का वासिन्दालाई विशेष निम्ता दिएको छ। “जाउँ है पोखरा” अभियान अन्तर्गत पूर्वी नेपाल भ्रमणमा रहेको होटल संघ पोखरा नेपालको टोलीले विराटनगरमा आयोजना गरिएको कार्यक्रममा फेवा नववर्ष महोत्सवमा सहभागी हुन आग्रह गरेको हो।
पर्यटन, संस्कृति र स्थानीय खानाको समिश्रण रहने यो महोत्सव चैत २९ गतेदेखि वैशाख १ गतेसम्म सञ्चालन हुनेछ। महोत्सवले आन्तरिक पर्यटन प्रवर्द्धनसँगै पोखराको आकर्षण थप उजागर गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा होटल संघ नेपाल कोशीका अध्यक्ष राजन श्रेष्ठले २५ वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको “जाउँ है पोखरा” अभियानलाई प्रशंसनीय पहल भन्दै यसको विस्तार भारतका उत्तर प्रदेश र बिहारसम्म गर्न सुझाव दिए। उनले कोशी प्रदेशमा पर्यटनको ठूलो सम्भावना हुँदाहुँदै पनि प्रचारप्रसारको अभावका कारण पछि परेको उल्लेख गरे।
होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुबेदीले पोखरा पर्यटकका लागि सस्तो र आकर्षक गन्तव्य भएको बताउँदै महोत्सव अवधिभर होटलको प्रकाशित दररेटमा २५ प्रतिशतसम्म छुट उपलब्ध गराइने जानकारी दिए।
त्यस्तै, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले पोखरा अन्नपूर्ण क्षेत्रको प्रवेशद्वार मात्र नभई प्याराग्लाइडिङ, बन्जी जम्पिङ जस्ता साहसिक गतिविधिका लागि समेत विश्वप्रसिद्ध गन्तव्य भएको बताए। उनका अनुसार यस अभियानलाई पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको सहकार्यमा सञ्चालन गरिएको हो।
कार्यक्रममा कोशी भ्रमण वर्ष २०८२ का संयोजक भविस श्रेष्ठले नेपाल र भारतमा पर्यटन प्रवर्द्धनलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। उनले पोखरा र पूर्वी नेपालबीच सिधा हवाई तथा गुणस्तरीय स्थल यातायात विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए।
टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले कोशी प्रदेशको नेपाली पर्यटनमा महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै पोखरा आसपासका छोटा-लामा पदयात्रा गन्तव्यबारे जानकारी गराए। नाट्टा कोशीका अध्यक्ष पुण्य भट्टराईले पूर्वबाट पोखरामा पर्यटक पठाउन आफू सक्रिय रहेको बताए।
कार्यक्रममा होटल संघ पोखरा नेपालका द्वितीय उपाध्यक्ष गणेशराज पहारीले सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए भने सञ्चालन संघका सचिव पार्वता पाण्डेले गरेकी थिइन्।
