लागू औषध र ४ लाख नगदसहित पोखराबाट महिला पक्राउ; जेनजी आन्दोलनका बेला कारागारबाट फरार भएको खुलासा

Share:

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागू औषध कारोबारको आरोपमा एक महिलालाई नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका वडा नं. २९ सैनिक बस्तीबाट ती महिलालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा पर्वत कुश्मा नगरपालिका वडा नं. १२ स्थायी घर भई हाल पोखरा-२९ बस्ने २६ वर्षीया सिमा दर्जी रहेकी छन्। प्रहरीले उनको साथबाट डाइजापाम १ एम्पुल, फेनेरागन १ एम्पुल र ब्रुफिनुर्फिन ६ एम्पुल (जम्मा ८ एम्पुल), ४ लाख १ हजार रुपैयाँ तथा २ थान मोबाइल बरामद गरेको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेकी दर्जी यसअघि पनि लागू औषध मुद्दामा दोषी ठहर भई कास्की कारागारमा सजाय भुक्तान गरिरहेकी थिइन्। तर, गत २०८२ भदौ २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा उनी कारागारबाट फरार भएको खुल्न आएको छ।

पक्राउ परेकी दर्जीलाई कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा ६ दिनको म्याद थप गरी हिरासतमा राखिएको छ। उनीमाथि लागू औषध कारोबार र कारागारबाट फरार भएको दुवै विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीकाले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: