
पोखरा । पोखरा वडा नं. १५ का सदस्य आशिष भण्डारीले आफ्नो जन्मदिनको अवसरमा बृहत रक्तदान कार्यक्रम आयोजना गरेका छन् । वडा सदस्य भण्डारीको एकल अगुवाईमा आयोजित कार्यक्रममा १५१ युनिट रक्त संकलन गर्न सफल बनेका छन् । रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा भएको कार्यक्रमको व्यवस्थापन भण्डारी स्वयं आजीवन सदस्य रहेको संस्था नेपाल स्वयंसेवी रक्तदाता समाज, कास्कीले गरेको थियो । पोखराका वडा अध्यक्षहरू र मातापिताले संयुक्त रुपमा रक्तदाताहरूलाई ब्लडब्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरेका थिए ।
पोखरा १२ का अध्यक्ष सन्तोष बास्तोला, पोखरा ९ का अध्यक्ष दीपेन्द्र मर्सानी, पोखरा १७ का अध्यक्ष राधिका शाही योगी, पोखरा-१० अध्यक्ष राजेशकुमार गुरुङ, भण्डारीका बुवा बलराम भण्डारी, आमा राधाकुमारी भण्डारीले पहिलो रक्तदाता राजिव जिसी लगायतलाई ब्लडब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका हुन् ।
पोखरा १५ वडाध्यक्ष बानियाँले रक्तदानलाई पुण्य र मानवीय सेवाको सर्वोच्च कार्यका रूपमा व्याख्या गर्दै सक्षम युवा नेतृत्वका रुपमा भण्डारीलाई चित्रित गरे । पोखरा १४ का अध्यक्ष कार्कीले जन्मदिनमा रक्तदान गरेर समाजलाई गुन लगाएकोमा आभार व्यक्त गर्दै आफूले पनि अबको जन्मदिनमा रक्तदान कार्यक्रम आयोजना गर्ने घोषणा गरे ।
पोखरा १२ का वडाध्यक्ष बास्तोलाले युवा पुस्तामा रक्तदानप्रति बढ्दै गएको आकर्षण सकारात्मक रहेको उल्लेख गर्दै यस्ता कार्यक्रम सबैका लागि प्रेरणाको स्रोत हुने र यस्ता पुण्यका कार्यले नै समाजलाई जीवन्त राख्ने बताए ।
पोखरा १७ का वडाध्यक्ष योगीले अस्पतालहरूमा रगतको अभाव भइरहेको अवस्थामा यस्ता कार्यक्रमहरूले आकस्मिक उपचारमा रहेका बिरामीहरूलाई ठूलो राहत मिल्ने बताइन् । कार्यक्रमको अध्यक्षता समेत गरेका वडा सदस्य भण्डारीले आफ्नो जन्मदिनलाई समाजलाई योगदान पुग्ने हिसाबले फरक तरिकाले मनाउन चाहेको बताए ।
‘जन्मदिनमा केही पुण्यको काम गरौं कि भन्ने सधैं लागिरह्यो । कहिले बृद्धाश्रम पुगेँ । यो पटक चाहिँ रगतको अभाव हुने समय पनि भएकाले रक्तदान कार्यक्रम गरौं भन्ने लाग्यो ।’
सदस्य भण्डारीले भने, ‘व्यक्तिको आह्वानमा भएको कार्यक्रमै डेढसय पिन्ट रगत संकलन भयो । यो सबै मलाई माया गर्नेहरूकै साथको कारण हो । नत्र, यो दिने कार्यक्रम हो । दान दिन पनि लाइन लागेर आउनुभयो ।’
कार्यक्रममा नेपाल औषधि व्यवसायी महासंघका सचिव गोपाल अधिकारी, स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष दीपेन्द्र अधिकारी लगायतले रक्तदानको महत्वका बारेमा बोलेका थिए ।
समाजका सदस्य हिरामणि भुसालले सञ्चालन गरेको कार्यक्रममा पोखराका पूर्व वडाध्यक्षहरु प्रकाश पौडेल, दर्शन लामा, राजकुमार गुरुङ लगायतको उपस्थिति रहेको थियो ।
