
पोखरा। पोखरा महानगरपालिका वडा नं. २९ आदर्शचोकमा पार्किङ गरी राखिएको गाडीमा आगजनी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
शनिबार राति अन्दाजी १:०० बजे आदर्शचोकस्थित ‘जयाराम बाब विश्वकर्मा सप्लायर्स’ भित्र पार्किङमा रहेको प्रदेश २-०३००१ च ५००० नम्बरको योद्धा गाडीमा आगजनी गरी फरार रहेका व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा पोखरा-२९ पटनेरी बस्ने २२ वर्षीय बिसान सुनार रहेका छन्। उनलाई सोमबार पोखरा-२७ रिठ्ठेपानीस्थित चन्द्रघाट नजिकैको जंगलमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको टोलीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो।
पक्राउ परेका सुनारमाथि कास्की जिल्ला अदालतबाट ‘आपराधिक उपद्रव’ सम्बन्धी कसूरमा पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

