
पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोस्रो चौमासिक प्रगति समीक्षा गर्दै शुक्रबार वडा नं.७, तोल्कास्थित हिमालय माध्यमिक विद्यालयको प्राङ्गणमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। स्थानीय सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रममा जनप्रतिनिधि र कर्मचारीहरूले जनताका प्रश्न र गुनासाहरूको प्रत्यक्ष सामना गरेका थिए।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी बरालले चालु आर्थिक वर्षको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले बजेट खर्चको अवस्था, योजना कार्यान्वयन र सेवा प्रवाहमा भएका सुधारबारे तथ्याङ्क प्रस्तुत गर्दै प्रशासनिक पारदर्शितामा जोड दिए। वडा नं.७ का वडाध्यक्ष तथा गाउँपालिका प्रवक्ता भरतमान गुरुङले स्वागत मन्तव्य राख्दै यस्ता कार्यक्रमले स्थानीय सहभागितालाई सुदृढ गर्ने बताए।
सुनुवाइमा सहभागी स्थानीयवासीले विकास निर्माण र सेवा प्रवाहका कमजोरीबारे कडा प्रश्न उठाएका थिए। स्थानीय महेन्द्रकुमार आलेले लुम्ले-लान्द्रुक सडक निर्माणमा भएको ढिलासुस्ती र कमजोर अनुगमनको आलोचना गरे। साथै, माझगाउँ हेल्थपोस्टको प्रभावकारिता र खानेपानी योजनामा देखिएका समस्याबारे पनि उहाँले ध्यानाकर्षण गराए।
त्यस्तै, भगवान पौडेलले लान्द्रुक मोदी हाइड्रोपावरले सामाजिक उत्तरदायित्व पूरा नगरेको भन्दै प्रश्न उठाए। कार्यक्रममा लुम्ले-लान्द्रुक क्षेत्रमा सार्वजनिक यातायातको अनियमितता, तोल्का-भिचुक झोलुङ्गे पुलको निर्माणमा भएको ढिलाइ, ट्रेकिङ मार्ग मासेर सडक बनाइएको र पर्यटन संकेत चिन्हको अभावजस्ता विषयहरूमा व्यापक गुनासो सुनिएको थियो।
अपाङ्गता भएका स्थानीय होमबहादुर थापाले भत्तामा रहेको असमानता हटाउन र कृत्रिम खुट्टा जडानका लागि पहल गरिदिन माग गरेका थिए। हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक दिलबहादुर थापाले विद्यालयमा आईसीटी पूर्वाधारको अभाव, जीर्ण भवन, अस्वच्छ खानेपानी र दरबन्दी अभावका कारण पठनपाठनमा समस्या परेको जानकारी दिए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामप्रसाद गुरुङले शिक्षामा लगानी बढाउन र हाइड्रोपावर कम्पनीहरूलाई शिक्षा क्षेत्रमा योगदान गराउन माग गरे।
उठेका जिज्ञासा र गुनासाहरूको जवाफ दिँदै गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले सीमित स्रोत र कानुनी दायराभित्र रहेर समस्या समाधान गर्न गाउँपालिका प्रतिबद्ध रहेको बताए। उनले आगामी दिनमा कार्यशैलीलाई थप पारदर्शी र योजनाबद्ध बनाउने आश्वासन दिए।
गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारीले महिला, बालबालिका, ज्येष्ठ नागरिक र विपन्न वर्गलाई लक्षित गरी विशेष कार्यक्रमहरू ल्याइने स्पष्ट पारे। पत्रकार प्रकाश ढकालले सहजीकरण गर्नुभएको उक्त कार्यक्रम ए एण्ड ए मिडिया प्रालि पोखराको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो। कार्यक्रममा उठेका प्रश्नहरूलाई व्यवहारिक रूपमा समाधान गर्न सके मात्र सार्वजनिक सुनुवाइको सार्थकता रहने सहजकर्ता ढकालले औंल्याए।
