
पोखरा । गण्डकी प्रदेश सरकारले स्थापना गरेको गण्डकी विश्वविद्यालयको पहिलो दीक्षान्त समारोह शनिबार सम्पन्न भएको छ। स्थापनाको छोटो अवधिमै विश्वविद्यालयले आफ्नो पहिलो ब्याचका ४४ जना विद्यार्थीलाई दीक्षित गरेको हो।
समारोहमा बिआइटीका १८ जना, बी फार्मका १५ जना र बीएसएमका ११ जना गरी कुल ४४ विद्यार्थीलाई शैक्षिक उपाधि प्रदान गरियो। जसमध्ये ३.९५ जिपिए प्राप्त गर्ने बी फार्मका गौरब भण्डारीलाई ‘कुलपति पदक’ प्रदान गरिएको थियो।
त्यस्तै, संकायगत रूपमा उत्कृष्ट हुने गौरब भण्डारी (बी फार्म), क्याटरीना बस्नेत (बीआइटी) र मलिनकुमार रोका (बीएसएम) लाई ‘उपकुलपति पदक’ प्रदान गरियो। दीक्षित भएर निस्कँदै गर्दा विद्यार्थीहरूमा खुसी भन्दा बढी भविष्यको अन्यौलता देखिएको छ। बीआइटी सकेकी नम्रता पौडेलले विश्वविद्यालय नयाँ भएकाले रोजगार पाउनेमा शंका व्यक्त गरिन्।
उनले भनिन्, “प्रदेश सरकारले प्रत्येक कार्यालयमा आइटी अफिसर राख्ने नीति बनाउनुपर्छ, नत्र हामी जस्ता जनशक्ति काठमाडौँ वा विदेश पलायन हुन बाध्य हुनेछन्।”
त्यस्तै, अर्का विद्यार्थी प्रवेश सुवेदीले पोखरामा ‘टेक इन्डस्ट्री’ भित्राउने वातावरण बनाउन सरकारलाई सुझाव दिए भने बीएसएममा दीक्षित मलिनकुमार रोकाले उत्पादित जनशक्तिलाई व्यवस्थापन गर्ने ठोस योजना ल्याउन माग गरे।
उपकुलपति डा. कृष्णराज अधिकारीले विश्वविद्यालयले बजारको माग अनुसारका फरक विषयहरू अध्यापन गराइरहेको बताए। हाल ७ सय ५० विद्यार्थी अध्ययनरत यस विश्वविद्यालयले निकट भविष्यमै बायोमेडिकल, कम्प्युटर र सिभिल इन्जिनियरिङ जस्ता प्राविधिक विषयहरू सुरु गर्ने तयारी गरेको छ।
पोखरा-३२ मालमुलमा आफ्नै पूर्वाधार निर्माण गरी सञ्चालनमा आएको यस विश्वविद्यालयले परम्परागत शैलीभन्दा भिन्न रहेर अनुसन्धान र नवप्रवर्तनमा जोड दिँदै आएको छ।
