
रञ्जन अधिकारी पोखरा, १४ मङ्सिर । पोखरा ९ नयाँबजार स्थित पोखरा बहुमुखी क्याम्पसको सोमबार २९ औं वार्षिकोत्सव एवं पुरस्कार वितरण समारोह सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले कयम्पसले गुणस्तरीय शिक्षा प्रदान गर्न खेलेको भुमिकाको प्रशंसा गर्दै अझै प्रगतिको कामना गरे ।
उनले तराई मधेशमा जारी आन्दोलनले मुलुकको आर्थिक, शैक्षिक लगायत सम्पूर्ण क्षेत्रमा नराम्ररी प्रभावित बनाएको उल्लेख गर्दै आन्दोलनरत पक्ष र सरकार चाँडै वार्ता सम्वादमार्फत सहमतिमा पुग्नुपर्नेमा जोड दिए । मुल्मीले विभिन्न वहानामा नाकाबन्दी लगाउने काम मानव अधिकारको विरुद्ध भएको र देशले ठूलो क्षति व्यहोर्नुपर्ने बताए ।
शिक्षाविद् एवं अक्षयकोषका संस्थापक गणेशबहादुर गुरुङले क्याम्पसले विभिनन आरोह अवरोह पार गर्दै पोखरेलीको मात्र नभै अहिले पश्चिमाञ्चल क्षेत्रमै आफुलाई स्थापित गर्न सक्षम भएको बताए । वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै क्याम्पस प्रमुख सुनिल मर्सानीले क्याम्पसको चुनौति र अवसरबारे बोलेका थिए ।
क्याम्पस सञ्चालक समितिका सदस्य गोपाल बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा कन्या क्याम्पसका प्रमुख सुरेश मानन्धर, पोखरा बहुमुखी क्याम्पसका पूर्व प्रमुख हस्तबहादुर थापा, पुर्व सहायक क्याम्पस प्रमुखद्वय शिशुकला पराजुली, महेन्द्र रिमाल, पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एशोसियसनका प्रतिनिधि एवं मिन अक्षयकोष छात्रवृत्तिदाता शम्भुलाल श्रेष्ठ, महेन्द्र उच्च माविका प्राचार्य रामदत्त पौडेल, प्राध्यापक संघका सभापति गुरुदत्त शर्मा, विद्यार्थीहरु आभाषा दाहाल, सुजन अधिकारी, सपना रोका, गोविन्द आचार्य लगायतले बोलेका थिए ।
कार्यक्रममा उत्कृष्ट सेवा प्रदान गर्ने प्राध्यापक देवीप्रसाद तिवारी, चौकीदार झलक बहादुर केसीलाई प्रशंसापत्र सहित सम्मान गरिएको थियो भने कक्षा ११ का एवं स्नातक प्रथम वर्षका विद्यार्थीलाई स्वागत पनि गरिएको थियो ।
वार्षिक उत्सवका अवसरमा क्याम्पसले मंसीर १० गतेबाटै विभिन्न कार्यक्रम आयोजना गरेको थियो । कविता वाचन तर्फ कृष्ण कार्की प्रथम, सुमन सुवेदी द्वितीय, प्रतिभा पौडेल तृतीय र अन्तिम गुरुङले सान्त्वना स्थापन प्राप्त गरे । यस्तै, नेपाली निबन्ध लेखन तर्फ नम्रता गर्बुजा, अन्तिम गुरुङ, इल्यास मिया र दीपेन्द्र परियारले क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्न सफल भए । अंग्रेजी निबन्ध लेखनतर्फ उमा गुरुङ प्रथम, प्रतिक्षा ढुंगाना द्वितीय, भुपेन्द्र थापा तृतीय र विज्ञान पराजुली सान्त्वना भए ।
यस्तै, अन्तर संकाय भलिव छात्र तर्फ कक्षा १२ सी र डी समूह प्रथम, बिबिएस तृतीय वर्ष द्वितीय र कक्षा ११ तृतीय बन्न सफल भए । छात्रा भलिवल तर्फ बिए तृतीय वर्ष प्रथम तथा बिबिएस द्वितीय र तृतीयको टोली उपविजेता बन्यो । कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख चुडामणि सुवेदीले गरेका थिए ।
